लक्ष्मण बिसि,पर्वत- पर्वतको जलजला गाउँपालिकामा रहेका मासु तथा डेरी पसलहरुको अनुगमन गरिएको छ । शुक्रबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जलजलाको मुख्य बजारक्षेत्र वारिबेनी, मिलनचोक, लस्ती लगायतका बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । दर्ता नगरी संचालन गरिएका मासु पसललाई तत्काल दर्ता गर्न, मुल्यसुची राख्न, पसलको सरसफाइमा ध्यान दिन र सफा र ताजा मासु बिक्री गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
स्वस्थकर मासु तथा दुधजन्य पदार्थ बिक्रीवितरणमा जोड दिने उद्देश्यले कार्यालयले बजार अनुगमन कार्यलाई जोड दिएको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो ” मासु तथा डेरी पसल मापदण्ड अनुसार संचालन गर्नुपर्छ, व्यवसायीहरुलाई सजग र सचेत गराउन जिल्लामाभर अनुगमन कार्यलाई निरन्तरता दिएका छौँ।”

मापदण्ड अनुसार संचालन नभएका पसललाई पहिलोपटक सम्झाइबुझाई गरेको र अर्कोपटक अनुगमनमा जादा मापदण्ड पालन नभएको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो । मानिस निरोगी रहनका लागि सफा स्वच्छ, ताजा र स्वास्थकर मासु खानुपर्ने कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य संघ, उपभोक्त मंच,प्रहरी, प्रशासन र पत्रकार सहित गएको टोलिले मासु पसलको दर्ता, मुल्यसुचि, फ्रीजको अवस्था, सरसफाइ लगाएतको अनुगमन गरिएको थियोे । त्यस्तै बिहीवार कुश्मा बजारका डेरी तथा मासु पसल अनुगमन गरिएको छ भने सनिवार मोदी गाउँपालिकाका मुख्य बजारको अनुगमन गरिने कार्यालयले जनाएको छ ।

