लक्ष्मण विश्वकर्मा,पर्वत-राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले जिल्लाका विभिन्न पालिकामा पुगेर भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेको छ । यसैबिच आइतबार बिहादी गाउँपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतको आयोजना र बिहादी गाउँपालिकाको ब्यबस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई लाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि पालिकाहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको राष्ट्रिय भुमी आयोग जिल्ला समिति पर्वतका अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो । वडा तथा पालिकामा समिति गठन गरि सात दिने सूचना प्रकाशन गरेर वडाभित्र रहेका भुमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनमा जोड दिनुपर्ने बताउनुभयो । जिल्लाभर भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।आयोगले तोकेको ढांचा वमोजिम निवेदन फाराम भर्नुपर्ने बताइएको छ । त्यस्तै आफ्नो र आफ्नो परिवारको नाम जग्गाको लालपूर्जा नभएको हुनु पर्ने र अव्यवस्थितको हक मा १० बर्ष अघि देखि बस्दै आएको हुनु पर्ने सुवेदीले बताउनुभयो ।वडा पालिका हुँदै सबै प्रक्रिया पूरा भएर भुमि आयोग जिल्ला समितिमा आएका निवेदनका आधारमा लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ, वडाअध्यक्षहरु ,वडा सचिवहरु, सबै राजनीतिक दलहरु, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतद्वारा बिहादीमा अन्तरक्रिया !

