पर्वत- १५ औँ पुस्तकालय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा बुधबार वृक्षारोपण गरिएको छ । मोति सामुदायिक पुस्तकालयको आयोजनामा खानिगाउँ स्थित बयर डाँडामा रहेको सार्वजनिक खाली ठाउँमा ३० भन्दा बढी चाँपका विरुवा रोपिएको हो । विगतका बर्षहरुदेखि नै शिक्षा र सामाजिक जागरणका कार्यहरू गर्दै पुस्तकालय दिवस मनाउदै आएको र यो बर्ष वातावरण संरक्षणका लागि विरुवा रोपिएको मोती सामुदायिक पुस्तकालयका लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पछिल्लो समय मानवीय तथा प्रकृतिक प्रकोपका कारण वन विनाश हुँदै गइरहेको र महत्त्वपूर्ण रुखबिरुवा लोप भएको अवस्थामा उक्त वृक्षरोपण कार्यले वन वातावरण तथा लोपोन्मुख चराचुरुङ्गीहरुको संरक्षणमा मद्दत पुग्ने मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो । वातावरण स्वच्छ भए मात्र मानिसको स्वास्थ्य राम्रो हुने बताउदै खाली रहेको ठाउँलाई सदुपयोग गरि वृक्षरोपण गर्नुपर्ने उहाँले जोड दिनुभयो । पर्यावरणीय सन्तुलन कायम राख्नको लागि वृक्षरोपण कार्यले ठूलो मद्दत पुग्ने उहाँको भनाइ छ । त्यस्तै उचित बासस्थानको अभावमा लोप हुन लागेका चील लगायतका महत्त्वपूर्ण चराचुरुङ्गीका लागि चापको रुख उपयुक्त बासस्थान हुने भएकाले चाँपको बिरुवा रोपिएको शर्माले बताउनुभयो ।विरुवा रोपेर मात्र नहुने बताउदै रोपेका विरुवा संरक्षण गरि हुर्काउनुपर्नेमा उहाँले जोड दिनुभयो । शर्माले भन्नुभयो “विरुवाहरु रोपेर मात्र हुँदैन, तिनिहरुलाई हुर्काउन सबैले संरक्षणमा ध्यान दिनुपर्छ ।” बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरि पुस्तकालय दिवस मनाइएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलले बताउनुभयो ।नगर स्तरीय तिज गित प्रतियोगिता, अंग्रेजी बहस प्रतियोगिता, चित्रकला प्रतियोगिता र वातावरणमैत्री वृक्षारोपण गरि पुस्तकालय दिवस मनाइएको उहाँले बताउनुभयो । फलेवास नगरपालिका वडा नं. ५ का जनप्रतिनिधि, पुस्तकालयका कर्मचारी, वन समितिका पदाधिकारी, पत्रकार,भवानी विद्यापिठ माबिका विद्यार्थीहरु लगायतको सहभागितामा वृक्षरोपण गरिएको थियो ।
उक्त चाँपका विरुवा डिभिजन वन कार्यालय पर्वतबाट लगेर रोपिएको हो। पढौ पढाऔ,निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ भन्ने मुल नाराका साथ आज १५ औँ पुस्तकालय दिवस मनाइएको छ । जिल्लाकै पहिलो पुस्तकालयको रुपमा स्थापित मोती सामुदायिक पुस्तकालयले शिक्षासँगै सामाजिक कार्यहरू -संचालन गर्दै आइरहेको छ ।
पुस्तकालय दिवसको अवसरमा फलेवासमा वृक्षरोपण, वातावरण संरक्षणमा जोड!

