प्रतिनिधिसभा सदस्य उमेदवार तिमिल्सिना, बिषयविज्ञ र नागरिकबीच फलेवासमा विचार गोष्ठी सम्पन्न

६ फागुन,पर्वत- प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोहरी तिमिल्सिना, भिन्न बिषयविज्ञ तथा स्थानीय नागरिकहरुको बीचमा पर्वतको फलेवासमा फलेवासको विकास मार्गचित्र, चुनौती र सम्भावना बिषयमा बिचार गोष्ठी सम्पन्न भएको छ ।  फलेवास विकास सरोकार मंचको आयोजनामा उक्त कार्यक्रम फलेवास -५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको सभाहलमा बुधबार सम्पन्न भएको हो ।

पर्वत जिल्लाको राजनीतिक, शैक्षिक र सामाजिक दृष्टिकोणले अति महत्वपूर्ण क्षेत्र मानिने फलेवासमा आयोजित विचार गोष्ठीले नयाँ राजनीतिक तरंग ल्याउने अड्कलबाजी गरिएको छ । बढ्दो चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला विषय विज्ञहरुको सहभागीतामा आयोजित विचार गोष्ठीले चर्चा बटुलेको हो ।  फलेवास विकासको मार्गचित्रः चुनौती र सम्भावना विषयक शिर्षक दिइए पनि गोष्ठीमा जिल्ला र सिंगो मुलुकको राजनीति, अर्थ साथै विविध विषयमा गहन छलफल भएको थियो ।
गोष्ठीले उम्मेदवारबिचको जनसंवाद पनि आवश्यक छ भन्ने थप झल्काएको छ । गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ, विकासविद् तथा अनुसन्धाता डा.निमानन्द रिजाल, प्राध्यापक रोमा मानन्धर लगायत विद्धतवर्गको उल्लेखनीय सहभागीता थियो ।
बुद्धिजीवी, सामाजिक व्यक्तित्वहरु, विभिन्न विचारले आवद्ध राजनीतिकर्मी, लेखक, पत्रकार, नेपाल सरकारका सेवा निवृत्त उच्च अधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जेन्जी युवा पुस्ताका प्रतिनिधिहरु, शिक्षासेवी व्यक्तित्वहरु लगायत स्थानीयबासीको सक्रिय सहभागीताले गोष्ठिको अपरिहार्यतालाई पुष्टि गरेको छ ।

गोष्ठिमा नेपाली कम्युनिष्ट पार्टी पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मनहरि तिमिल्सनाले आफ्नो २३ बुँदे चुनावी प्रतिवद्धतालाई खुलस्त राख्नुभएको थियो । उम्मेदवार तिमिल्सिनाले २३ बुँदे प्रतिवद्धतामध्ये २१ बुँदा पर्वतको विकाससँग सम्वन्धित रहेको बताउनुभयो ।
प्रत्येक बुँदाका लागि आफूसँग प्रोजेक्ट प्लान रहेको दाबी गर्दै उम्मेदवार तिमिल्सिनाले आधुनिक कृषि र पर्यटन, बादर नियन्त्रण योजना, पकेट क्षेत्र विकास, गुणस्तरीय शिक्षा व्यवस्था, डिजिटल पर्वत निर्माण, आइसिटी हब, पर्वत विकास सम्मेलन लगायतका विषयमा प्रष्टसँग अवधारणा राख्नुभयो । उम्मेदवार तिमिल्सिनाले जनताले १७ जना उम्मेदवारलाई एकै मञ्चमा राखेर सवैको विकासप्रतिको धारणा र विचार सुन्न पाउनुपर्छ भन्नेमा जोड दिनुभयो । पर्वत विकास सम्मेलन भन्ने बुँदा जनप्रतिनिधहरुमा आफूले नै पहिलो पटक उठान गरेको उम्मेदवार तिमिल्सिनाको दाबी छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शनशास्त्र विभागको सदस्य भई अनुभवले खारिने अवसर पाउनुभएका तिमिल्सिना माक्र्सवादी ज्ञान केन्द्रको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । जनताको जनवादका आधारहरु, सामाजवादी क्रान्तिको कार्यदिशा, क्वान्टम सिद्धान्त, समाजवादःसिद्धान्त र प्रयोग लगायत दर्जनौ पुस्तकहरुका लेखक रहिसक्नुभएका तिमिल्सिना विज्ञानप्रविधिमा समेत राम्रो दखल राख्नुहुन्छ ।
गोष्ठिमा पर्वत बहुमूखी क्याम्पसका प्रमुख लाल प्रसाद शर्माले युवालाई नेपालमै बस्ने र केही गर्न सक्ने खालको शिक्षा नीति आवश्यक रहेको बताउनुभयो । गाउँमा विद्यार्थी संख्या घट्दै जाँदा फलेवासका तीन वटा क्याम्पस मर्ज गरी एकै बनाई अगाडि बढाउनु पर्ने र नगरपालिकाले क्याम्पसलाई दिदै आएको अनुदान रोक्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा डहरेलेक, काजीको पौवा, मोरेघाट लगायतलाई समेटेर पर्यटन प्रवद्र्धन गर्न सकिने, लमाय खोलालाई बाँध बाँधेर सिंचाई सुविधा पुराउन सकेमा बाँझो जग्गामा खेती गर्न सकिने, पूर्वाधार विकासमा भन्दा पनि गुणस्तर कायम गर्न जोड दिनपर्ने, बाँदर नियन्त्रका लागि बाँदरले कम क्षति पुराउने बाली लगाउने लगायतका अन्य उपायबारे सहभागीहरुले सुझाएका थिए ।
जेन्जी पुस्ताले उद्यमशीलतामा जोड दिई रोजगारीको सृजना गर्नुपर्ने, कृषि अनुदान दिदा उत्पादनको आधारमा दिइनुपर्ने, कृषि उत्पादनका लागि बजारको ग्यारेन्टी हुनुपर्ने, कालीगण्डकी सभ्यताको बचाउ गर्ने लगायतका कुराहरु कार्यक्रममा राखेका थिए । पर्वत युवा संजालका सचिव तथा सामाजिक अभियान्ता मदन पौडेलले गाउँ र शहरबजारको असमानतालाई कसरी कम गर्न र सामाजिक न्याय दिलाउन सक्नुहुन्छ भनी प्रश्न राख्नुभएको थियो ।
सहभागीहरुको प्रश्नको जवाफमा योजनाविद् तथा अनुसन्धाताहरुले मुलुकको समग्र आर्थिक सम्वृद्धि र समन्यायिक विकासका लागि सहि योजना, नीति र कानूनको खाँचो पर्ने र त्यसका लागि स्पष्ट भिजन र दुरदृष्टि राख्ने व्यक्ति संसदमा जानुपर्नेमा जोड दिएका थिए ।
सांसदले पूर्वाधार निर्माणका लागि नभई योजना, नीति र कानून बनाउने काम गर्ने हो । उदाहरणका लागि मुलुकको शिक्षा सुधारका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो छ । परिवर्तनका लागि संसद नै बाधक बन्छ र शिक्षा ऐन संसदमा नै रोकिएको छ । संसदमा विषय विज्ञलाई जिल्लाबाट चुनेर पठाउन सकेमा मात्रै सहि नीतिनियम र कानून निर्माण भई मुलुकले समग्र गति लिन सक्ने धारणा विषयविज्ञहरुको थियो ।
संविधानमा उल्लेख गरे अनुसार मुलुकलाई समाजवाद उन्मुख व्यवस्थामा लैजान पनि आत्मनिर्भर अर्थतन्त्रको खाँचो छ । यसैले संसदमा जाने जनप्रतिनिधि दुरदृष्टि राख्ने र अध्ययनशील विषय विज्ञको खाँचो रहेको बौद्धिकवर्गको ठम्याइ छ । विचारगोष्ठीले मतदातालाई उम्मेदवार कसरी चयन गर्ने र कस्तो उम्मेदवारलाई विजयी गराउने भन्ने समेत छर्लङ्ग भएको बताइएको छ । गोष्ठीमा उपस्थित विभिन्न क्षेत्रमा आबद्ध सरोकारवाला व्यक्तिहरुले प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिमिल्सिनालाई फलेवास लगायत समग्र जिल्लाको समृद्धिका लागि आवश्यकता र औचित्यका आधारमा ठोस योजना सहित दिगो विकासमा जोड दिन सुझाव दिएका छन् ।

ताजा

Related Articles