पर्वत, फागुन १३ — पर्वतको कुश्मामा बैंकिङ कसुर सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम पर्वत उद्योग वाणिज्य संघको कार्यालय बुधबार सम्पन्न भएको हो । कार्यक्रममा बैंकिङ कसुर, चेक बाउन्स, ठगीका घटना तथा त्यसबाट जोगिने उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले सहजीकरण गर्दै बैंकिङ कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, चेक प्रयोग गर्दा ध्यान दिनुपर्ने कानुनी पक्ष तथा बैंकिङ कसुर सम्बन्धी विद्यमान कानुनबारे सहभागीहरूलाई विस्तृत जानकारी दिनुभयो। उहाँले खातामा पर्याप्त रकम बिना चेक जारी गर्नु कानुनी अपराध हुने र यसबाट कैद तथा जरिवानासम्म हुन सक्ने बताउनुभयो । पर्वतमा आ.ब. २०८० देखि २०८२ को ३ बर्षको अवधिमा ११ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएर विगो रकम भुक्तानी भएको बताउनुभयो ।
कार्यक्रमका सहभागी स्थानीय सर्वसाधारण, व्यवसायी तथा सरोकारवालाहरूले वित्तीय अनुशासन कायम गर्न तथा ठगीका घटनाबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।
बैंकिङ कसुरका घटनाबाट जोगिन कारोबार गर्दा बैंक खाताको अवस्था बुझ्न र कानुनी प्रक्रिया पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष ईश्वर गिरी, वडा नं. ७ का अध्यक्ष परशुराम पुरी, बैंक तथा सहकारीका कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय पर्वतका महिला तथा बालबालिका शाखा प्रमुख पुर्णिमा थापाले गर्नुभएको थियोे ।

