‎फलामखानीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण ‎

‎७ मंसिर,पर्वत- पर्वतको महाशिला गाउँपालिका–६, फलामखानी घन्तेरी स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । त्यस्तै,स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा बल्याङ्केट र विद्यालयका शिक्षिकालाई सेनेटरी प्याड वितरण गरिएको छ । लोट्स लाइट च्यारिटी सोसाइटी युकेको सहयोग तथा लायन्स क्लब अफ काठमाडौं नमोबुद्धको समन्वयमा उक्त सहयोग सामग्री आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

‎ विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीलाई कापी, विद्यालय झोला तथा ट्र्याकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण विश्वकर्माले जानकारी दिनुभयो ।
‎ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै प्रदान गरिएको सहयोगले विद्यार्थीलाई अध्ययनमा थप उत्साहित बनाउनुका साथै उनीहरूको पठनपाठनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको विश्वकर्माले बताउनुभयो ।
‎
‎कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि युप्तेन कर्म रेम्युचेले विशेषगरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रोत्साहन गर्ने तथा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनका लागि सहयोग पुर्‍याउने उद्देशले सामाग्री सहयोग गरिएको बताउनुभयो ।
‎
‎तयस्तै,कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका–६ का वडा अध्यक्ष गोविन्द बहादुर विकले विद्यालयका विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी सहयोग उपलब्ध गराउने संस्था र सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा प्रोत्साहन मिल्नुका साथै ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
‎त्यस्तै, चिसो मौसमलाई ध्यानमा राख्दै स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
‎लोट्स लाइट च्यारिटी सोसाइटी युकेको सहयोग तथा लायन्स क्लब अफ काठमाडौं नमोबुद्धका सदस्य तथा कार्यक्रम संयोजक दिपक तामाङले
‎बिद्यार्थीको शैक्षिक उन्नयन, ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नितान्त मानवीय सेवाको भावनाले सहयोग गरिएको बताउनुभयो ।
‎
‎कार्यक्रममा बोल्दै नयन न्युज डटकमका सम्पादक पत्रकार लक्ष्मण बिसिले विद्यार्थीलाई शैक्षिक सामाग्री र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यले सामाजिक सेवाको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । सहयोगी संस्था तथा समन्वयकर्तालाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।  समाजमा रहेका विपन्न, असहाय तथा आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्नु नै वास्तविक मानवीय सेवा भएको उहाँको भनाइ थियो ।
‎कार्यक्रममा लोट्स लाइट च्यारिटी सोसाइटी युके
‎ छिन्दु टेम्पलका अध्यक्ष एलन चुङग, लायन्स क्लब अफ काठमाडौं नमोबुद्धका अध्यक्ष विश्व केसी, क्लबका पुर्व अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।
‎वडा अध्यक्ष गोविन्द बहादुर बिकको अध्यक्षता पत्रकार लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन बिद्यालय व्यवस्थापन समिति अध्यक्ष किरण विश्वकर्माले गर्नुभएको थियो ।
‎
‎शिक्षा, स्वास्थ्य, मानवीय सहायता र सामाजिक सेवाका क्षेत्रमा गरिने यस्ता सहयोगले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यस्ता अभियानलाई निरन्तरता दिन सके समुदायस्तरमा सामाजिक उत्तरदायित्व र सहयोगको संस्कार थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।
‎

ताजा

Related Articles