22.8 C
Kathmandu
Sunday, August 17, 2025

महाशिलाको रणनीतिक पहल:बसाइँसराइ गएकालाई गाउँ फर्काउन र उत्पादनमा जोड दिन अनुदानको व्यवस्था

पर्वत-पछिल्लो समय बसाइँसराइका कारण गाउँका अधिकांश घरहरु खाली हुन थालेपछि चुनौती व्यवस्थापन गर्नका लागि गाउँपालिकाले रणनीतिक पहल थलेको छ । गाउँका खेतीयोग्य जमिन बुट्यान र झाडीमा परिणत हुँदै गएका छन् । यस्तो अवस्थामा यहाँको एक गाउँपालिकाले भने बाँझो जमिनको सदुपयोग गर्दै उत्पादनमा जोड दिने र गाउँ छोडेर बसाइँसराइ गएकाहरुलाई गाउँ फर्काउन प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिने भएको छ । आफू बसेको गाउँठाउँ छाडेर अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको लागि खर्च उपलब्ध गराउने भएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि नीति बनाएर यस्तो कार्यक्रम लागु गरि निरन्तरता दिएको बताइएको छ ।
गाउँ फर्केकाहरूलाई घर निर्माण तथा मर्मतका लागि १ लाख र अन्न उब्जाउ नहुने बेलासम्मका लागि खाद्यान्न खरिदका लागि प्रतिव्यक्ति मासिक २ हजारका दरले अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले जानकारी दिए ।
बढ्दो बसाईसराईका कारण गाउँहरु रित्तिनुका साथै खेतीयोग्य जमिन बाँझिदै गएपछि अनुदान उपलब्ध गराउने नीति बनाइएको उनले बताए ।
भुसालले भने “जसको घर छैन, अथवा जीर्ण बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रति परिवार रु. एक लाख रुपैयाँ अनुदान दिन्छौं । खेतबारीमा एक बाली अन्न फलाउन कम्तीमा छ महिना लाग्छ, त्यतिबेला सम्मका लागि चामल, दाल, नुन,तेल, तरकारी लगायत आवश्यक खाद्यान्न सामान भरणपोषका निम्ति अनुदान रकम दिने नीति बनाएका छौँ ।” खेतीयोग्य जमिनको झाडी पन्छाउन प्रति रोपनी १ हजार रुपैयाँ उपलब्ध गराइने छ । त्यस्तै पालिकाभित्र बाँझो रहेको खेतीयोग्य जमिन जग्गा धनीको अनुमतिमा पालिकाले कर तिर्नेगरी जिम्मा लिने र खेती गरि कृषि उपज उत्पादन गर्न इच्छुकलाई निशुल्क उपलब्ध गराइने समेत उनले बताए ।
गाउँमा सडक,खानेपानी, बिजुली, बिद्यालय, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गएपनि बसाइँसराइ गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागु गरिएको उनको भनाइ छ ।
६ वटा वडा रहेको उक्त पालिकामा पछिल्लो एक वर्षको अवधिमा १५ परिवार गाउँ फर्किएर आएको बताइएको छ ।
पालिकाले अनुदान दिने उक्त कार्यक्रम लागु गरेपछि १५ परिवारका ३२ जना गाउँ फर्केर आएका हुन् । पालिकाको वडा नं ५ मा सात, वडा नं ४ मा चार, वडा नं वडा नंं १ मा तीन, र वडा नं ६ मा एक जना बसाई सरेर आएका छन् । उनिहरुलाई वडा कार्यालयको सिफारीस र गाउँ कार्यापालिकाको निणर्य बमोजिम अनुदान रकम वितरण गरिने उनले बताए । अनुदानका लागि भने हालसम्म एक परिवारबाट मात्र निवेदन आएको उनको भनाइ छ । गाउँपालिकाले तरकारी र दुध उत्पादन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदान र बजारीकरणको व्यवस्था समेत गर्दै आएको गाउँपालिकाका अध्यक्ष भुसालले बताएका छन् ।
पालिकाका अुनसार पछिल्लो एक वर्षमा गाउँपालिकावाट ९३ परिवारका तीन सय २५ जना भने गाउँपालिकावाट बसाईसराई गरेर गएका छन् । महाशिलाका अधिकांस नागरिक पोखरा, बुटवल, चितवन, नवलपुर, भैरहवा लगायतका ठाउँमा बसाई सरेर गएका छन् ।

ताजा

Related Articles