16.1 C
Kathmandu
Sunday, March 29, 2026

स्थानीय भाषा संरक्षणमा महाशिलाको जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण सम्पन्न

२ फागुन,पर्वत – पर्वतको महाशिला गाउँपालिकाले समुदाय स्तरमा बोलिने स्थानीय भाषाको संरक्षणमा जोड दिएको छ ।  गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि गुरुङ भाषा (खेमा लिपि) सम्बन्धी तिन दिने प्रशिक्षण तालिम दिइएको हो ।

गुरुङ भाषालाई समुदायस्तरमा प्रवर्द्धन गर्दै विद्यालयमार्फत संरक्षण र विस्तार गर्ने उद्देश्यले शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गुरुङ भाषाको माध्यमबाट समाज र संस्कृतिको महत्व बुझ्न सकिने तथा विद्यालयमार्फत समुदायमा यसको महत्त्व फैलाउन सहज हुने बताउनुभयो।  आगामी दिनमा अन्य समुदायका भाषालाई पनि लिपीबद्ध गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रशिक्षणमा सहभागी शिक्षकहरूले बोलीचालीमा गुरुङ भाषा जान्ने भए पनि लेख्न नसक्ने अवस्था रहेको बताउँदै यस प्रशिक्षणले लेखन सीपमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।  गुरुङ भाषा बोल्न जानेपनि लिपिमा कम्जोर रहेको र उक्त प्रशिक्षणले भाषा लिपिमा महत्त्वपूर्ण फाइदा पुर्‍याएको तालिममा सहभागी शिक्षक लेखकाजी गुरुङले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमको सहजीकरण भिम प्रसाद गुरुङले गर्नुभएको थियो। स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

ताजा

Related Articles