२० साउन २०८३, पर्वत- जाजरकोट जिल्लाको नलगाड नगरपालिका–६, गर्छिनाकी मनिषा विश्वकर्माले दलित समुदायबाट जिल्लामै पहिलो महिला अधिवक्ता बनेर नयाँ इतिहास रचेकी छन्। कानुन व्यवसायी परिषद्को अधिवक्ता परीक्षामा सफल भएपछि उनले जिल्लाको कानुनी क्षेत्रमा दलित महिलाको ऐतिहासिक उपस्थिति स्थापित गरेकी हुन्।
कर्णाली प्रदेशका दुर्गम बस्तीहरूमा जन्मिएका धेरै छोरीहरूको सपना अभाव, सामाजिक विभेद र अवसरको कमीका कारण अधुरै रहने गर्छ। तर विश्वकर्माले ती सबै बाधा चिर्दै इतिहास रचेकी हुन् । विं.स. २०८२ सालमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट पाँचवर्षे बीए–एलएलबी अध्ययन पूरा गरि अधिवक्ता बनेकी हुन् । उनको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन, सामाजिक रूपान्तरण र न्यायको यात्रामा प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ ।
मनिषाको जीवनयात्रा बाल्यकालदेखि नै संघर्षले भरिएको थियो। उनका बुबा–आमाले जातीय विभेदलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेपछि परिवारले आफ्नै गाउँ छाड्न बाध्य भयो। जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्दै जीवन बिताउँदा उनको बाल्यकाल पनि प्रवासमै बित्यो।
त्यो समय सम्झँदै मनिषा भन्छिन्, “सायद मैले हजुरबा–हजुरआमाको माया कस्तो हुन्छ, दशैंमा सबै परिवार भेला हुँदा कस्तो रमाइलो हुन्छ, मामा घर जाँदाको उत्साह कस्तो हुन्छ ? यी धेरै अनुभूति बाल्यकालमा पाउन सकिनँ। मेरो संसार भनेको बुबा, आमा र दाजुभाइ–दिदीबहिनी मात्रै थियो।”
विं.स. २०६८ सालतिर परिवार नेपाल फर्किएपछि गाउँको कठिन जीवन, आर्थिक अभाव र संघर्षबीच उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइन्। उनी भन्छिन्, “आज फर्केर हेर्दा महसुस हुन्छ, ती कठिन दिनहरूले नै मलाई धैर्य, आत्मनिर्भरता र संघर्षसँग नडराउने साहस सिकाए।”
बाल्यकालमा प्रहरी अधिकारी र पछि चिकित्सक बन्ने सपना देखेकी मनिषाको जीवनले +२ पछि नयाँ मोड लियो। कसैको सुझावमा उनले कानुन अध्ययन सुरु गरिन्। अध्ययनसँगै कानुनप्रतिको आकर्षण गहिरिँदै गएको उनले बताइन् ।
उनी भन्छिन्, “जति अध्ययन गर्दै गएँ, त्यति नै महसुस भयो, म सायद सानैदेखि यही बाटो खोजिरहेकी रहेछु। अन्याय देख्दा प्रश्न गर्ने, विभेद स्वीकार गर्न नसक्ने र न्यायको पक्षमा उभिन चाहने मेरो स्वभावसँग कानुन गहिरोसँग जोडिएको रहेछ।
उनको यात्रा सहज भने थिएन। परिवारको आर्थिक संकट, व्यवसायमा आएको घाटा, सानी बहिनीको मुटुको जटिल शल्यक्रिया, अंग्रेजी माध्यममा अध्ययन गर्नुपरेको चुनौती र सुरुका सेमेस्टरमा ब्याक पेपर लाग्दा पनि उनले हार मानिनन्।
विश्वकर्मा भन्छिन्, “मैले त्यसलाई असफलता होइन, आफूलाई सुधार्ने अवसरका रूपमा लिएँ। निरन्तर मेहनत, आत्मविश्वास र परिवारको साथले अन्ततः निर्धारित समयमा अध्ययन पूरा गर्न सफल भएँ।”
नेपाल कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको इजाजतपत्र प्राप्त गरेको दिन उनको जीवनकै सबैभन्दा अविस्मरणीय क्षण बन्यो। उनी सम्झिन्छिन्, “त्यो दिन मेरो नामअघि ‘अधिवक्ता’ थपिएको मात्र थिएन; वर्षौँदेखिको संघर्ष, बुबा–आमाको अथक त्याग, परिवारको विश्वास र आफ्नै निरन्तर मेहनतले एउटा अर्थपूर्ण उपलब्धिमा रूप लिएको अनुभूति गरेँ।”
अधिवक्ता बनेसँगै मनिषाको लक्ष्य व्यक्तिगत सफलतामा सीमित छैन। उनी विशेषगरी महिला, दलित तथा आर्थिक रूपमा विपन्न समुदायका नागरिकलाई न्यायको पहुँच विस्तार गर्न चाहन्छिन्।
अब उनको लक्ष्य फौजदारी तथा फरेन्सिक कानुनमा विशेषज्ञता हासिल गर्दै संवैधानिक कानुन, मानव अधिकार तथा महिला, दलित र सीमान्तकृत समुदायको न्यायमा पहुँच विस्तारका लागि काम गर्ने रहेको छ। उनी निःशुल्क कानुनी परामर्श, कानुनी सचेतना र सार्वजनिक हितका कानुनी पैरवीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने चाहना राख्छिन्।
न्याय भनेको अदालतको फैसला मात्र होइन, प्रत्येक नागरिकले आफ्नो अधिकारको सम्मान भएको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु पनि रहेको मनिषाको बुझाइ र भनाई छ ।
कानुन अध्ययन गर्न चाहने युवाहरूलाई उनले इमानदारी, व्यावसायिक नैतिकता र न्यायप्रतिको प्रतिबद्धतालाई कहिल्यै सम्झौता नगर्न आग्रह गरेकी छन्। उनका अनुसार कानुन केवल पेशा नभई अन्यायविरुद्ध उभिने, मानव अधिकारको रक्षा गर्ने र समाजलाई न्यायपूर्ण बनाउने जिम्मेवारी पनि हो।
उनले भनिन्, “मेरो विश्वास छ, न्याय भनेको अदालतले दिने फैसला मात्र होइन; प्रत्येक नागरिकले आफ्नो अधिकारको सम्मान भएको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु पनि हो।”
कर्णालीको दुर्गम गाउँबाट सुरु भएको मनिषा विश्वकर्माको यो यात्रा केवल एक युवतीको सफलताको कथा होइन। यो अभाव, विभेद र असमानताविरुद्धको दृढ संघर्ष, शिक्षाप्रतिको अटल विश्वास र न्यायप्रतिको समर्पणको प्रेरणादायी गाथा हो। जाजरकोटको इतिहासमा दलित समुदायबाट पहिलो महिला अधिवक्ताका रूपमा उनले कोरेको यो अध्याय आगामी पुस्ताका हजारौँ छोरीहरूका लागि आशा, आत्मविश्वास र सम्भावनाको उज्यालो बनेर रहनेछ।

