शनिबार रातीदेखि परेको अविरल वर्षका कारण पहिरोले घर पुरिँदा पर्वतको मोदीमा एक दम्पतीको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं.३ लाङ्दीका ७८ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी धर्मपत्नी ७५ वर्षीय विष्णुमती विश्वकर्माको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीलाई उद्धार कार्य गर्दै जाँदा मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिनुभयो । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी गरिएको थियो।
बिहान करिब ५ बजेको समयमा घटना घटेको भन्ने खबर आएको तर वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा उद्धार टोली घटनास्थलमा पुग्न पनि निकै कठिन भएको उहाँले बताउनुभयो ।
२१ जना प्रहरीको टोली र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका छविलाल दम्पतीलाई मृत अवस्थामा भेटाइएको छ ।
अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ । छविलालको घरमाथीबाट आएको पहिरोले घर पुर्ण रुपमा पुरिएको उहाँले बताउनुभयो । दुवैजनाको शव पोष्टमार्टमका लागि पर्वत अस्पताल ल्याउँदै गरिएको छ ।
घटनामा अन्य के कती क्षती भयो भन्ने बारेमा विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख बिष्टको भनाई छ ।

