पर्वतको दुर्लुङमा असोज ३१ गते पुरुष हाफ म्याराथन प्रतियोगिता हुँदै

१२ असोज २०८३, पर्वत-पर्वतको कुश्मा नगरपालिका–३ दुलुङकोटमा आगामी असोज ३१ गते प्रथम दुलुङकोट पुरुष हाफ म्याराथन–२०८३ आयोजना हुने भएको छ।

दुलुङकोट म्याराथन समाजले ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल दुलुङकोटलाई देश तथा विदेशमा चिनाउने, युवालाई खेलकुदसँग जोड्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।
हिन्दूहरूको महान् पर्व बडादसैंको अवसर पारेर ‘दौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुलुङकोट चिनाऔं, खेलकुदसँग जोडाऔं’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको दौड मोदी गाउँपालिका–पातीचौरबाट सुरु भई कुश्मा नगरपालिका–३ दुलुङकोटमा पुगेर सम्पन्न हुनेछ। दौड बिहान ठीक ८ बजे सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने धावकले असोज २३ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ। दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयले ६० हजार, तृतीयले ४० हजार, चौथोले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

ताजा

Related Articles