११ कार्तिक,पर्वत – प्रदेश अस्पताल पर्वतमा एम्बुलेन्स उपलब्ध भएको छ । अस्पतालको वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै जलजला गाउँपालिकाको कार्यालयले केही समयका लागि एम्बुलेन्स उपलब्ध गराएको हो ।
प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियार ‘शिव’ले अस्पतालको आवश्यकता र स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले जलजला गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले एम्बुलेन्स उपलब्ध गराएर अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै जलजला गाउँपालिकाको कार्यालय र गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष परियारले स्थानीय तह र अस्पतालबीचको सहकार्य गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको मूल आधार भएको बताउनुभयो । अस्पतालको आग्रहलाई स्वीकार गर्दै सहयोग, सद्भाव र जिम्मेवार भूमिका निर्वाह गरेकोमा जलजला गाउँपालिकाप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि स्थानीय तह र अस्पतालबीचको समन्वय तथा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । एम्बुलेन्स उपलब्ध भएपछि प्रदेश अस्पताल पर्वतको सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ । विशेषगरी बिरामीलाई आवश्यकताअनुसार स्वास्थ्य संस्थासम्म पुर्याउन तथा स्वास्थ्य सेवा व्यवस्थापनमा यसले सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता सहयोगात्मक प्रयासलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

