अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा धेरै ७४ मिलिमिटर पानी परेको छ । अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा बाढीको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी प्रदेशको केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगको थोरै ठाउँमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जानेछ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुनेछ । अर्नबको प्रभाव कम हुने भए पनि हल्का वर्षाको सम्भावना कायमै रहेकाले ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।