लक्ष्मण विश्वकर्मा,पर्वत-पर्वतको कुश्मामा सामाजिक कुरिती विरुद्धको अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले समाजमा रहेका कुरिती र कुसंस्कारका कारण महिला तथा सिमान्तकृत समुहका व्यक्तिहरुमा परेको प्रभावका बारेमा सहजीकरण गर्नुभएको थियो ।
वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक सबै प्रकारका विभेद अन्त्य गरि सभ्य समाज निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै आर्थिक समानता समृद्धि, सामाजिक न्यायको सुनिस्चितता समानुपातिक समाबेशि र सहभागितामुलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माणमा सबैले पक्षले आ-आफ्नो भुमिका निर्वाह गर्नुपर्ने सापकोटाले बताउनुभयो । कार्यक्रममा महिला मानव अधिकार मंच पर्वतका पुर्व अध्यक्ष माया अधिकारी, सरस्वती शर्मा जिज्ञासु, उपभोक्त मंच पर्वतका अध्यक्ष सरु भण्डारी लगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी,महिला अधिकारकर्मी, सुरक्षाकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन प्रशासकीय अधिकृत दिलिप सुवेदीले गर्नुभएको थियो ।
पर्वतमा सामाजिक कुरिती विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न!

