पर्वत-पर्वतका सात स्थानीय तहमध्ये छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेबास नगरपालिकामा भने नगर सभा हुनसकेको छैन । फलेबासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगर सभा सम्पन्न हुन नसकेको हो ।
नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा एमालेका प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो । नगर प्रमुख गङ्गाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयसहितको प्रस्ताव पेश नगरेको आरोप एमालेका प्रतिनिधिले लगाएका छन् भने नेपाली कांग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेबासमा नगर बस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगर सभा हुन नसकेको दाबी गरेका छन् ।
फलेबास नगर प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू कार्यपालिकामा प्रस्तुत गरेको बताए । उनले नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्य बाहिर गएको दाबी गरे । उनले भने, ‘नगर प्रमुखले सहमतिका लागि आउनुस् भन्दा पनि बहुमतको दम्भ देखाएर उहाँहरू हिँड्नुभयो ।’

