17.1 C
Kathmandu
Wednesday, April 15, 2026

खेलमैदान नहुँदा खेलाडीलाई समस्या, खेलमैदान सम्याउन खेलाडीको सक्रियता!

पर्वत-व्यवस्थित खेलमैदान अभावका कारण यहाँका खेलाडीहरु खेल खेल्नबाट बञ्चित भएका छन् । पैयूँ गाउँपालिकामा खेलप्रति खेलाडीहरुको रुची बढी भएपनि मैदान अभावले गर्दा आफ्नो प्रतिभा बिस्तारै ओझेल पार्न बाध्य रहँदै आएका छन् । पैयूँ गाउँपालिकाका ७ वटा वडामा थुप्रै क्लवहरु स्थापना भएर खेलप्रति आकर्षित भएपनि एउटा पनि स्तरीय खेलमैदान छैन । मैदान अभावकै कारण खेलाडीहरु पलायन हुँदै गएको मर्दिखोला युनाइटेड क्लबका अध्यक्ष अविनाश बस्याल (अर्जुन)ले बताए ।
‘खेलप्रति रुची भएका खेलाडीहरु थुप्रै भएपनि खेलमैदान अभावले उनीहरुले आफ्नो प्रतिभा देखाउन सकिरहेका छैनन्’ उनले भने–‘धेरै सम्भावना भएका राम्रा खेलाडीहरु पनि पलायन हुँदै गए ।’ सरकारले खेलप्रति राम्रो भावना देखाउने हो भने हरेक पालिकामा कम्तीमा पनि एउटा सुविधासम्पन्न स्तरीय खेलमैदान आवश्यक पर्ने पनि दाबी गरे । ‘देशमा तीन तहका सरकार छन पनि के कारण हो खेलकुदको विकास र खेलाडीको क्षमता विस्तारका लागि ध्यान दिएको पाइएन’ बस्यालले भने ।
पैयूँ गाउँपालिकामा सेतीखोला र मर्दिखोलाको किनारमा रहेको बगर मैदानका रुपमा खेलाडीले प्रयोग गर्दै आएका छन् । त्यही बगरलाई स्तरीय मैदानका रुपमा विकास गर्न स्थानीय तहदेखि केन्द्रसम्म पहल गरेपनि सुनुवाई नभएको खेलाडीहरुको गुनासो रहेको छ । ‘पैयूँका खेलाडीहरु रातदिन नभनी आफ्नो क्षेत्रको नाम चिनाउन खेलीरहेका छन, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन पनि भएका छन्’ मर्दिखोला युनाइटेड क्लबका अध्यक्ष बस्यालले भने–‘तर हामीलाई वडा, गाउँपालिका, प्रदेश, केन्द्र, जिल्ला खेलकुद विकास समिति कतैबाट पनि मैदानको ब्यवस्था नहुँदा अत्यन्त चिन्तित छौ ।’
पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले खेलकुदको क्षेत्रमा पालिकाबाट गतबर्ष झण्डै ३५ लाख खर्च भएको र त्यो ५० बढी क्लवलाई बितरण गर्न बाध्य भएको बताए । पालिकामा सीमित स्रोतसाधनका कारण खेलाडीको गुनासो सम्बोधन गर्न कठिनाई भएपनि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर खेलाडीको समस्या समाधानमा लाग्ने बताए । ‘पैयूँमा अहिले देखिएको मुल समस्या खेलमैदान नै रहेको छ, त्यसका लागि हामी सम्बन्धित ठाउँमा माग गरिरहेका छौ’ उनले भने । उनले पालिकाको स्रोतबाट क्लवहरुलाई सामान्य सहयोग भन्दा बढी केही गर्न नसकिएको बताए ।
पैयूँ गाउँपालिकामा यही साउन १५ गतेदेखि यु १९ का जिल्लास्तरीय फुटवल खेलाडी छनौट हुँदैछन् । खेलमैदान अभावले गर्दा स्थानीय खेलाडीहरु नै मैदान सम्याउन लागेका छन् । खोलाको किनारमा रहेको सानौ मैदान नमिलेका कारण सम्याउन आफै खेलाडी जुटेको यु–१९ खेलाडी छनौटका प्रशिक्षक समेत रहेका बस्यालले जानकारी दिए । ‘छनौटका लागि प्रतिष्पर्धामा आएका खेलाडी भाईबहिनीहरु नै मैदान सम्याउन कस्सिए’ उनले भने । पैयूँमा जिल्ला खेलकुद विकास समितिले साउन ११ गतेदेखि यु १९ का खेलाडीलाई छनौट गर्ने तयारी गरेपनि मैदान अभावकै कारण साउन १५ गते सारिएको थियो ।

ताजा

Related Articles