19.1 C
Kathmandu
Friday, April 17, 2026

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

गोरखा – दशैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् ।

गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेपछि लाभग्राही खुसी भएका हुन् । ‘पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर पुग्नुपर्थ्याे,’ ज्येष्ठ नागरिक राममाया गुरुङले भन्नुभयो, ‘अहिले घरै नजिकको टोलटोलमा आएर बाँड्न थालेपछि सजिलो भएको छ ।’

उहाँले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफूहरुले धेरै हैरानी खेपेको बताउनुभयो । ‘बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोलि त बैंकका मान्छे नै टोलटोलमा आएर बाँड्छ कति सजिलो भएको छ कति ।’

गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देश्यसहित चालु आवको पहिलो चौमासिकअन्तर्गतका सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एक महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले आइतवार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । आइतबारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यही असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वडाभित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न शुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि असहाय तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै गाउँपालिकाले बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।-रासस

ताजा

Related Articles