21.1 C
Kathmandu
Friday, April 17, 2026

समाजसेवी प्रकाश सुमनद्वारा जन्मदिनको अवसरमा दीर्घरोगीहरुलाई आर्थिक सहयोग

पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी चन्द्र प्रकाश पौडेल चन्द्र सुमनले आफ्नो ४३ औं जन्मोत्सवको अवसरमा दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । पर्वतको महाशिला गाउँपालिका-६, फलामखानी निवासी मृगौलामा पत्थरी परेर आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका सुमन सुनारलाई ५ हजार र कुश्मा निवासी एपेन्डिस रोगबाट ग्रसित गिता माझीलाई ५ हजार गरि १० हजार सहयोग गर्नुभएको हो । बुधबार कुश्मामा उहाँलाई विभिन्न सामाजिक संघसंस्थाहरुले जन्मदिनको शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए । सोही अवसरमा समाजसेवी प्रकाश सुमनले उक्त सहयोग गर्नुभएको हो । सेवा नै मानवीय धर्म भएको उल्लेख गर्दै आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका व्यक्तिहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले उक्त सहयोग गरेको सुमनले बताउनुभयो । आगामी दिनहरुमा पनि गरिब,विपन्न, असहाय तथा अशक्त तथा दीर्घरोगीको सेवामा समर्पित भएर निरन्तर समाजसेवामा सक्रिय रहने उहाँले बताउनुभएको छ । फलामखानीका पत्थरी पीडित सुमन सुनारको गरीबीका कारण आर्थिक अभावमा उपचारमा समस्या भएको खबर नयन न्युज डटकममा प्रकाशन भएको र उक्त न्युज देखेपछि आफुलाई सहयोग गर्ने भावना आएको उहाँले बताउनुभयो । साक्षी मिडिया प्रालिद्वारा संचालित नयन न्युज डटकमका संचालक तथा सम्पादक लक्ष्मण विश्वकर्माले समाजसेवी तथा सहयोगीलाई धन्यवाद व्यक्त गर्दै उहाँले प्रदान गर्नुभएको सहयोग रकम पीडितलाई हस्तान्तरण गर्ने बताउनुभयो । रोटरी क्लब अफ पर्वतका अध्यक्ष बद्री गिरी,नेपाल मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेल,नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था कुश्माका निमित्त प्रमुख युद्दिस्टिर भुसाल, पत्रकार महासंघ पर्वतका सहसचिव दिपेश बि. पोख्रेल लगायतले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै सुमनको सामाजिक तथा परोपकारी कार्यको प्रशंसा गरेका थिए । रोटरी क्लब अफ पर्वतका अध्यक्ष बद्री गिरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा रेडियो समृद्ध नेपालका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीको स्वागत मन्तव्य र संचालन पत्रकार ठाकुर रसाइलीले गर्नुभएको थियो ।

ताजा

Related Articles