21.1 C
Kathmandu
Thursday, April 16, 2026

मोती सामुदायिक पुस्तकालयमा ट्याग परियोजना तालिम सुरु, किशोरीहरुको नेतृत्व र क्षमता विकासमा जोड

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयमा टेक ऐज गर्लस (ट्याग) परियोजना तालिम सुरु भएको छ । मोती सामुदायिक पुस्तकालय र रिड नेपालको सहकार्यमा १३ महिनासम्म संचालन हुने उक्त तालिम आजबाट सुरु भएको हो ।
मुख्य रुपमा ११ देखि १६ बर्ष उमेरका किशोरीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि तालिम संचालन भएको मोती सामुदायिक पुस्तकालय ट्याग परियोजना कोडिनेटर रमा भुसालले जानकारी दिनुभयो ।
तालिममा फलेवास नगरपालिका स्थित विभिन्न बिद्यालयमा अध्ययनरत ५५ जना किशोरीहरुको सहभागीता रहेको छ । यस अघि पनि ५५ जना किशोरीहरुले तालिम प्राप्त गरेको र अहिले उनिहरु सिनियर ट्याग गर्लसको रुपमा समाजमा विभिन्न चेतनामूलक र रचनात्मक कार्यहरू गर्दै आएको उहाँले बताउनुभयो । तालिममा सहभागी हुने किशोरीहरुलाई लोगो अंकित टिसर्ट र क्याप टोपी वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले नगरको गहनाको रुपमा रहेको मोती सामुदायिक पुस्तकालय शैक्षिक तथा सामाजिक जागरणमा सकृय रहेको बताउनुभयो । पुस्तकालयले संचालन गरेका शैक्षिक तथा सामाजिक कार्यहरुको प्रसंशा गर्दै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले ट्याग परियोजना कार्यक्रमले नगरका किशोरीहरुमा ज्ञान र चेतनाको विकास भएको भन्दै पुस्तकालय र रिड नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्माले पुस्तकालयले रिड नेपालसँगको सहयोगमा पुस्तकालयमा संचालन भएको ट्याग परियोजना कार्यक्रम निकै किशोरीहरुका लागि प्रभावकारी भएको बताउनुभयो । उक्त कार्यक्रमले किशोरीहरुको आत्मविश्वास बढाएको र समाजमा सकारात्मक र रचनात्मक कार्यमा प्रेरित गर्न मद्दत पुर्‍याएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ” कुनै पनि व्यक्ति अब्बल, सफल र सक्षम बन्नको लागि भरपुर आत्मविश्वास, निरन्तर मेहनत र लगनशीलता आवश्यकता पर्छ ।” ट्याग परियोजना कार्यक्रमले किशोरीहरुलाई क्षमतावन र आत्मविश्वासी बनाउन मद्दत पुगेको शर्माको भनाइ थियो । सकारात्मक सोच,अध्ययन, चिन्तन र मननले नै व्यक्तिको चौतर्फी विकास हुने बताउदै नियमित पुस्तकालयमा आएर अध्ययन गर्न ट्याग गर्लस लगायत सबैलाई आग्रह गर्नुभयो । पुस्तकालयले शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिमा कार्यक्रमलाई समेत जोड दिदै आएको छ । सफा र सुन्दर वातावरणका लागि ५ सय सिमलको विरुवाहरु रोप्ने र परम्परागत पुराना सामाग्रीको भण्डारण र संरक्षणका लागि संग्रहालय निर्माण गर्न लागिएको समेत शर्माले बताउनुभएको छ । मोती सामुदायिक पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलले पुस्तकालयमा संचालित ट्याग परियोजना कार्यक्रमले किशोरीहरुको व्यक्तिगत जिवनसँगै घर परिवार र समाज रुपान्तरणमा समेत सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
रिड नेपालका ट्याग परियोजना कार्यक्रम संयोजक भाग्यश्री बिष्टले टेक्नोलोजी ऐज गर्लस ट्याग परियोजना किशोरीहरुलाई प्रविधिको माध्यमबाट नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिने उद्देश्यले संचालन गरिएको बताउनुभयो । नेपालका विभिन्न ५ वटा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना संचालन भएको र उक्त कार्यक्रमले किशोरीगरुमा चेतना र क्षमताको विकाससँगै शैक्षिक अभिवृद्धिमा जोड दिएको बताउनुभयो । ट्याग परियोजना कार्यक्रम सन् २०१८ देखि हालसम्म निरन्तर संचालनमा रहेको बताउनुभयो । पछिल्लो समय ट्याग परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी सिनियर ट्याग गल अनिसा चपाई, अस्मिता क्षेत्री, गृष्मा क्षेत्री,यशोदा तिवारी,सुशीला गौडेल, कृपा भट्ट, स्नेह परियार लगायतले तालिममा सिकेका कुराहरुको बारेमा आफ्नो अनुभव सुनाउनुभएको थियोे ।
प्रविधिको सहि सदुपयोग, समयको व्यवस्थापन, सहयोगी भावनाको विकास, तनाव व्यवस्थापन, हरेक कुरामा आत्मविश्वास बढेको,जीवन उपयोगी र व्यवहारिक ज्ञान, बाल बिवाहा रोकथाम लगायत शैक्षिक तथा सामाजिक ज्ञानको विकास भएको बताएका थिए ।
कार्यक्रममा ट्याग गर्लसहरुले वायु प्रदुषणले परेको असर र यसको रोकथाम सम्बन्धित जनचेतनामूलक गीति नाटक प्रस्तुत गरेका थिए । त्यस्तै तालिमले आत्मबल बढाएको भन्दै कविता,गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मोती सामुदायिक पुस्तकालयका सल्लाहकार जगन्नाथ प्रसाद लम्साल, पुस्तकालय संचालन समिति सदस्य तथा फलेवास मोडेल अग्रेजी आवासीय माबिका प्रीन्सिपल नेत्र बराल, पुस्तकालय संचालन समिति सदस्य तथा जनता माबिका शिक्षक डिना शर्मा, माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायीक माबिका शिक्षक सन्तोष राज पोख्रेल, दिपशिखा सामुदायिक पुस्तकालय कास्कीका भानु पहाडी, जनता आधारभूत बिद्यालयका प्रधानाध्यापक बैकुण्ठ प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ पर्वतका अध्यक्ष अनिता सापकोटा,ब्रमाहकुमारी ईश्वरी विश्वविद्यालय खानीगाउँका प्रमुख जानकी पौडेल,अभिभावक माया नेपाली, निर्मला अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । मोती सामुदायिक पुस्तकालयका लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले ट्याग परियोजना कार्यक्रमले किशोरीहरुमा सकारात्मक परिवर्तन, आत्मविश्वास र चेतनाको विकास भएको बताउनुभएको छ ।
मोती सामुदायिक पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनियर ट्याग गर्लस अस्मिता क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पुस्तकालय संचालन समिति सदस्य इन्दिरा तिवारीले गर्नुभएको थियोे ।

 

ताजा

Related Articles