पर्वत-“लागू औषध दुरुपयोग विरुद्द लडौं : रोकथाममा जोड दिऔं” भन्ने मुल नारासहित पर्वतको कुश्मामा लागू औषध विरुद्धको कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा सप्ताहव्यापी रुपमा संचालन भएको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो । विभिन्न जनचेतनामूलक नारासँगै कुश्मा बजारको लोकतान्त्रिक चोकमा प्रभातफेरी कार्यक्रम गरिएको र पर्वत उद्योग बाणिज्य संघको सभाहलमा औपचारिक रुपमा कार्यक्रम समापन गरिएको थियो ।
यहि जुन २०-२६ गते सम्म सप्ताहव्यापि रुपमा संचालन गरिएको विविध कार्यक्रमहरूको जिल्लाका विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तिहरु साथै विद्यार्थीको सहभागीतामा विधिवत रूपमा समापन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितीका प्रमुख विष्णु राम वि.क. को प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुश्मा नगरपालिका नगर उप-प्रमुख स्वास्थानि रिजाल , जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीहरु, जिल्ला स्थित विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक एवं विधार्थीहरू, स्थानिय आमा समुह, बाल क्लव एवं पत्रकारहरु सहित करिव ३०० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सप्ताहिक कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रमुख अतिथि लगायत अन्य उपस्तिथ ब्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक भुवन बरामले गर्नुभएको थियो ।
लागूऔषध के हो ?
लागूपदार्थ भनेको मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ ।
लागूऔषध र बालबालिका
बालबालिकाको उमेर सँगसँगै शारीरिक र मानसिक अवस्थामा समेत वृद्धि हुँदै जान्छ, उसको बढ्दो उमेर सँगसँगै बढ्दै गइरहेको मानसिक अवस्थामा उसले उपयुक्त वातावरण पायो भने सकारात्मक बाटोतिर जान्छ । उसले पढाइका अतिरिक्त अन्य वृत्ति–विकासमा लागि पर्दछ तर उसले उपयुक्त वातावरण पाएन भने कुलतमा फस्दछ र दुर्व्यसनको शिकार बन्दछ ।
प्रायः उनीहरू सुरुमा गाँजा खान्छन्, गाँजाले नभएपछि ट्याब्लेट खान्छन् र त्यसपछि ब्राउन सुगर खान थाल्छन् । कुनै कारणवश प्रयोग गर्न थालिएको लागूपदार्थको सेवन विना बाँच्नै नसक्ने अवस्था सिर्जना हुन्छ । जसलाई लागूपदार्थ दुर्व्यसनको अवस्था भनिन्छ ।
नेपालमा कति छन् लागूऔषध प्रयोगकर्ता ?
नेपालमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या हाल ३ लाख नाघिसकेको अनुमान गरिन्छ । यद्यपि, प्रयोगकर्ताको ठूलो संख्या यो तथ्यांकको घेराभित्र परेको छैन भन्ने लागूऔषध विरुद्ध काम गर्नेहरू बताउँछन् ।
अहिले सामाजिक र संगठित प्रकारका अधिकांश अपराधमा पनि लागूऔषध जोडिने गरेको छ । काठमाडौं उपत्यका, पोखरा, धरान लगायत शहरी क्षेत्र र खासगरी नेपाल–भारत सीमावर्ती शहरहरूमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ ।
खासगरी जोखिम समूहका युवायुवतीमा लागूऔषधको दुरुपयोग तथा दुव्र्यसनको प्रवृत्ति बढिरहेको पाइन्छ यसको साथै बालबालिकालाई लागूऔषधको ओसारपसारमा पनि प्रयोग गरेको पाइन्छ ।

