21.1 C
Kathmandu
Thursday, April 16, 2026

बालाकोटमा शैक्षिक सुधारका लागि बृहत अन्तरक्रिया, बिद्यालयमा बिद्यार्थी संगठन भङ्ग,कुनै गतिविधि गर्न नपाइने

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं.३, बालाकोटमा शैक्षिक स्तर सुधारका लागि बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालय बालाकोटको आयोजना र बालारानी माबिको समन्वयमा शैक्षिक परिवर्तनका संवाहक शिक्षक, बिद्यार्थी, अभिभावक र सरोकारवालाबिच उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
वडामा रहेका ३ वटै बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न निर्णय गरिएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएको बालाकोटका वडा अध्यक्ष कर्ण प्रताप गुरुङ (रोशन)ले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रियामा सहभागी वडाका जनप्रतिनिधि,सरोकारवाला, शिक्षक र बिद्यार्थीहरुले साझा प्रतिबद्धता बनाएर सामुहिक हस्ताक्षर गरेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन तथा विद्यालयको सर्वाणि विकासका लागि बिद्यालय दलिय राजनीतिबाट टाढा रहनुपर्ने, राजनीतिक दल निकट भातृ संघ संगठन भङ्ग गर्ने र ती विद्यार्थी संगठनका गतिविधि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको गुरुङले बताउनुभयो ।
समाजिक विकृति विसंगतिको अन्त्य गर्दै सभ्य समाज निर्माणका लागि वडा कार्यालयले जोड दिएको बताउदै त्यसका लागि शैक्षिक सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

अभिभावकहरुले आफ्ना छोराछोरीहरुको पढाइमा हरबखत चासो दिएर घरमा पनि पढ्ने वातावरण बनाउनुपर्ने, विद्यार्थीहरु अनुशासित र लगनशील भएर आफ्नो अध्ययनमा तल्लीन हुनुपर्ने र शिक्षकहरूले कक्षाकोठामा विद्यार्थीहरुको मनोभावना बुझेर अध्यापन गराउनुपर्नेमा वडा अध्यक्ष गुरुङले जोड दिनुभएको छ । वडामा केही व्यक्तिले शैक्षिक गुणस्तरमा बाधा पुर्‍याएको बताउदै वडाको शैक्षिक सुधारमा सबैले सकारात्मक चासो र चिन्तन गर्नुपर्ने उहाँको भनाइ थियो । वडाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले बिद्यालयको खस्किदो शैक्षिक अवस्था सुधारका लागि कोषेढंगा सावित हुने विश्वास छ । बृहत अन्तरक्रिया कार्यक्रमका निर्णयहरु सबैसँग समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
बालारानी माबिका प्रधानाध्यापक केशब अधिकारीले वडाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम महत्त्वपूर्ण रहेको बताउदै उक्त कार्यक्रमले शैक्षिक सुधारमा मद्दत पुग्ने बताउनुभयो ।
शिक्षक,बिद्यार्थी र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्ध र सरोकारवालाहरुको साथ, सहयोग, समन्वय र सहकार्यले मात्र शिक्षाको गुणस्तरमा सुधार हुने उहाँले बताउनुभयो । बिद्यालयको पछिल्लो अवस्थालाई गम्भीर रुपमा समिक्षा गर्दै आगामी दिनहरूमा सुधारात्मक कार्यलाई जोड दिने अधिकारीको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला, चन्द्रोदय आधारभूत बिद्यालयका प्रअ श्याम बहादुर क्षेत्री, कालिका आधारभूत बिद्यालयका प्रअ रुपमाया राना, शिक्षक,बिद्यार्थी, अभिभावक, शिक्षाप्रेमी व्यक्तिहरु लगायत १ सय ५० जना भन्दा बढीको सहभागीता रहेको थियोे ।
वडा अध्यक्ष अध्यक्ष कर्ण प्रताप गुरुङ (रोशन)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य टेक बहादुर रानाको स्वागत मन्तव्य र संचालन वडा सचिव बिमल रिजालले गर्नुभएको थियोे ।

ताजा

Related Articles