23.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसीजले कार्तिक २६ देखि मंसिर ५ सम्म सप्ताहव्यापी कार्यक्रम गर्दै

पर्वत- विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित जेसीज सप्ताह–२०२४ मनाउने भएको छ ।
युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीज सात दिनका लागि विभिन्न कार्यक्रमहरू गर्न लागिएको हो । कार्यक्रमबारे जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका मूल संयोजक अच्युत पौडेलले कार्तिक २६ गतेबाट मङ्सिर ५ गतेसम्म विभिन्न आठ वटा कार्यक्रमहरू गर्न लागिएको बताए ।
उनका अनुसार पहिलो दिन सोमबार उद्घाटन समारोह एवं महाशिलाको बालारानी माध्यमिक विद्यालयकी शिक्षक सरिता चापागाईँलाई बचाउन आर्थिक सहयोग हस्तान्तरण गरिने, २७ गते अपराह्न चार बजे ‘स्लो बाइक रेस’ प्रतियोगिता तथा ‘ट्राफिक’ सचेतनामूलक कार्यक्रम गरिने, २८ गते पर्वत जेसीज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिका पर्वतमा बिहान साढे सात बजे मैत्रीपूर्ण ‘फुटबल’ प्रतियोगिता गरिने छ ।
यस्तै, मङ्सिर दुई गते बिहान पर्वत कारागारमा पुस्तक हस्तान्तरण गरिने, मङ्सिर तीन गते जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने, मङ्सिर चार गते बिहान कालिका भगवती मन्दिर कुश्मा नगरपालिका–१२, बाटुलेचौरमा घण्ट प्रतिष्ठा तथा पूजा सामग्री हस्तान्तरण गरिने तथा अन्तिम दिन मङ्सिर पाँच गते पर्वत उद्योग वाणिज्य सङ्घको सभा हल, कुश्मामा पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता र पर्वत जेसीज सचिवालयमा जेसीज सङ्गम कार्यक्रम राखिएको छ ।
यी कार्यक्रमहरूका लागि क्रमशः मञ्जु शर्मा, प्रवेशराज पुरी, अर्जुनराज पुरी, झलक चापागाईँ, अज पोख्रेल, शर्मिला पौडेल, गणेश पौडेल (टु आर जी) र पवन श्रेष्ठ संयोजक तोकिएका छन् । पत्रकार सम्मेलनमा जसीजले सञ्चालन गर्ने कार्यक्रम तथा सामाजिक रुपमा गर्दै आइरहेका बिभिन्न कार्यक्रमहरुको बारेमा पर्वत जेसीजका महासचिव अमृतप्रसाद पोख्रेलले जानकारी गराएका थिए ।
राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका संवाहक युवाहरूमा रहेको जोस जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउन जेसीजले विभिन्न कामहरू गर्दै आइरहेको पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले बताए । पर्वत जेसीजले वर्ष २०२४ मा ‘युवाको विकासको लागि, सकारात्मक सोचाई’ भन्ने नारा सहित विभिन्न सामाजिक कामहरू सहित जेसीहरुको क्षमता विकासका लागि पनि काम गरिरहेको उनको भनाइ छ ।

ताजा

Related Articles