पर्वत-पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिकाको लोगो डिजाइन र गान लेखन सम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।
गाउँ कार्यपालिकाको शुक्रवारको निर्णयानुसार गाउँपालिकाको आफ्नो छुट्टै लोगो डिजाइन र गान लेखनको लागी प्रस्ताव आह्वान गरेको हो ।
गाउँपालिकाको पहिचान झल्किने गरि समग्र बस्तुस्थित समेटेर पालिकाको लोगो र गीत तयार गर्न प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।
विभिन्न सर्तका अधीनमा रही यही पौष २६ गते सम्म कार्यालयमा प्रस्ताव पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।
गाउँपालिकाले लोगो डिजाइन सम्बन्धमा समग्र गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने प्रकृतिको हुनुपर्ने,अन्य गाउँपालिकाको लोगो भन्दा भिन्न तथा मौलिक डिजाइनयुक्त हुनुपर्ने, लोगोमा समावेश भएका चित्र तथा शब्दहरूको मौलिक व्याख्या तथा विश्लेषण समेत समावेश भएको हुनुपर्ने बताएको छ ।
यस्तै पालिका गान लेखनबारे गाउँपालिकाले गानमा प्रयोग हुने शब्दहरू सामाजिक र धार्मिक सहिष्णुता झल्कने प्रकृतिको हुनुपर्ने, बढीमा साठी शब्दसम्मको हुनुपर्ने र समग्र गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने प्रकृतिको हुनुपर्ने जनाएको छ ।

