23.1 C
Kathmandu
Friday, April 17, 2026

फरार समात्न पर्वत प्रहरीको सकृयता, १९ दिनमा २९ जना पक्राउ

पर्वत- पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पर्वतले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्न थालेको छ। अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाए पाएका फरार प्रतिवादीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

पुस महिनाको १९ दिनमा मात्र २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पवर्तका सूचना अधिकारी एवं प्रहरी निरक्षिक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को श्रावण महिनादेखि पुस १९ गतेसम्म ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।

‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख एवं डीएसपी रविन विष्टले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा सक्रियताका साथ उत्रिएका छौँ ।’ अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई खोजी गरी पक्राउ गर्ने कार्य भइरहेको उनले बताए ।

वर्षौ अघि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि प्रहरी दिनरात खटेर कार्यसम्पादन गरिरहेको उनी बताउँछन् ।

कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्तर्गत दैनिक जसो फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले सुनाए ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको करिब ६ महिनामा २४ लाख ५९ हजार बढी जरिवाना र ३६ वर्ष ११ वर्ष ९ दिन सजाए भुक्तानका लागि ६८ जनालाई पक्राउ गरिएको छ। जसमध्ये साउन महिनामा २ जना, भदौमा ३, असोजमा १, कार्तिकमा १३, मंसिरमा २० र पुसमा २९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । तथ्यांक अनुसार पनि पछिल्लो केही महिना यता पर्वत प्रहरीको सक्रियता देखिएको छ ।

दण्डहिनता अन्त्य गर्ने उद्देश्य प्राप्तीका लागि विभिन्न कसुरमा जरिवाना तथा कैद सजाए पाएका फरार रहेका व्यक्तिहरुको विषयमा जानकारी भए सूचना उपलब्ध गराउनका लागि समेत जिल्ला प्रहरी कार्यालय पर्वतले आग्रह गरेको छ ।

ताजा

Related Articles