23.1 C
Kathmandu
Thursday, April 16, 2026

मोती सामुदायिक पुस्तकालयको ६५ औं वार्षिकोत्सव: स्मारिका विमोचन, सम्मान र पुरस्कार वितरण

पर्वत-पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको ६५ औं वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पुस्तकालयको स्मारिका विमोचन सम्मान तथा पुरस्कार वितरणको साथमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले मोती सामुदायिक पुस्तकालयले संचालन गरेको शैक्षिक तथा सामाजिक कार्यहरूको प्रसंशा गर्दै पुस्तकालयको उन्नयनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पुस्तकालयका संस्थापक भोलानाथ शर्माले समाजमा पुर्‍याएको योगदानको तिवारीले प्रशंसा गरेका छन् ।
कार्यक्रममा बोल्दै पुस्तकालयका संस्थापक, शैक्षिक तथा सामाजिक अभियान्त भोलानाथ शर्माले पुस्तक पढ्ने बानीले व्यक्तिलाई सकारात्मक चिन्तन,बौद्धिक, लगनशील र उर्जाशिल बनाउने बताउदै पठन संस्कृतिको विकासमा जोड दिए ।
पुस्तक अध्ययनले ज्ञान र चेतनाको स्तर वृद्धि गर्दै सफल व्यक्ति बन्न प्रेरित गर्ने उनले बताए । पुस्तकालयलाई दिगो रुपमा संचानमा सहयोगमा पुर्‍याउने संचालक समिति, कर्मचारी र सहयोगदातालाई शर्माले धन्यवाद व्यक्त गरेका छन् ।
सोही अवसरमा पुस्तकालयका संस्थापक शर्माले आफ्नो पहलमा प्राप्त भएको ल्यापटप प्रविधिमा चासो राख्ने कक्षा ११ मा अध्ययनरत सक्षम लम्साललाई हस्तान्तरण गरेका छन्

कार्यक्रम बोल्दै सूचना तथा संचार विभागका महानिर्देशक तथा मोती सामुदायिक पुस्तकालयका मानार्थ सदस्य प्रदिप परियारले
पुस्तकालय ज्ञानको भण्डार भएकाले पुस्तकालयमा पुगेर पुस्तक अध्ययनलाई जोड दिनुपर्ने बताए । पुस्तकालयको संरक्षण र प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा पुस्तकालयका वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले पुस्तकालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फलेवास नगरपालिकाकै सबैभन्दा जेष्ठ नागरिक १ सय २ बर्षीय शताब्दी पुरुष रत्न बहादुर थापालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ । त्यस्तै स्वदेशी मानार्थ सदस्यको रुपमा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, पुस्तकालयलाई योगदान पुर्‍याउने रिड नेपालका भाग्यश्री बिष्ट, बिना गोले र दीक्षा अधिकारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा फलेवास नगरपालिका-५ का वडा अध्यक्ष नारायण लामिछाने, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्य, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य ठाकुर प्रसाद भुसाल, पुस्तकालयका संरक्षक रामेश्वर लम्साल, समाजसेवी भरत कुमार श्रेष्ठ, गहते अम्बोट आधारभूत बिद्यालयका प्रअ ओमकार पौडेल, समाजसेवी हरिहर थापा, हरिमाया शर्मा, रिड नेपालका भाग्यश्री बिष्ट, सिनियर ट्याग गर्लस सरस्वती पौडेल, जुनियर ट्याग गर्लस कृसा तिवारी, ट्याग गर्लस अभिभावक माया तिवारी र संगिता सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोती सामुदायिक पुस्तकालयले सम्पुर्ण गतिविधि समेटेर “मोती” अङ्क २ स्मारिका” प्रकाशनमा ल्याएको छ । उक्त स्मारिकाको पुस्तकालयका सदस्य तथा प्रकाशन संयोजक नेत्र बरालले समिक्षा गरेका थिए ।
यसैबीच समाजसेवी हरिमाया शर्माले खानीगाउँमा प्रहरी चौकी स्थापनाका लागि २५ हजार, मोती पुस्तकालयको उन्नयनका लागि २० हजार र भवानी बिद्यापिठ माबि उत्कृष्ट विद्यार्थीलाई पुरस्कार स्वरुप २ हजार ५ सय सहयोग गरेकी छन् ।

वि. सं. २०१६ सालमा स्थापित मोती सामुदायिक पुस्तकालय पठन संस्कृतिको विकास र प्रवर्द्धनसँगै विभिन्न सामाजिक कार्यमा अग्रसर छ । पुस्तकालयले उद्यमशीलता, जनचेतना, महिला सशक्तीकरण, किशोरीको क्षमता अभिवृद्धि, सरसफाइ लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ । पुस्तकालयले जिल्लाका १ सय ७० वटा सामुदायिक बिद्यालयमा पुस्तकालय संचालन गरेको छ ।
वार्षिकोत्सबको अवसरमा आयोजित बिद्यालय स्तरीय वतृत्वकला प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा मोती सामुदायिक पुस्तकालय सिलाईकटाई समुह र ट्याग गर्लसहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा मोती सामुदायिक पुस्तकालयको नवनिर्मित सभाहल भवनको समेत उद्घाटन गरिएको छ ।
पुस्तकालय संचालन समिति अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार कृष्ण सापकोटाको स्वागत मन्तव्य र सदस्य गोविन्द सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

ताजा

Related Articles