पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ५, खानीगाउँ पिप्लेमा इलाका प्रहरी कार्यालयको भवन निर्माण हुने भएको छ । खानीगाउँमा रहेको अस्थायी प्रहरी पोष्टलाई इलाका प्रहरी कार्यालय भवन बनाउन स्थानीयले जग्गा सहयोग गरेका छन् । उक्त जग्गाको लालपुर्जा मंगलबार एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय पर्वत र वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
स्थानीयले प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी ६ आना र वडा कार्यालयका लागि ३ रोपनी ३ आना जग्गा प्रदान गरेका छन् ।
स्थानीय उमाकान्त लामिछाने, खड्क प्रसाद लामिछाने, सिताराम लामिछाने, यज्ञ प्रसाद लामिछाने, नारायण लामिछाने र केदार लामिछानेले उक्त जग्गा प्रदान गरेका हुन् । कार्यक्रममा बोक्दै प्रमुख अतिथि पर्वतका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पराजुलीले नागरिकको शान्ति, सुरक्षा र विपत्त व्यवस्थापनमा प्रहरीको अहम् भुमिका रहेको बताउदै भवन निर्माण भएपछि प्रहरीलाई काम गर्न सहज हुने बताए । यथाशीघ्र भवन निर्माणका लागि सरकारसँग सहयोगको अपिल गर्ने उनले बताए ।
फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले नगरका जनतामा सान्ती, सुरक्षा र अमनचयनका लागि ईलाका प्रहरी कार्यालय बन्न लागेकोमा खुशी व्यक्त गरे । जग्गादातालाई धन्यवाद व्यक्त गर्दै भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । त्यस्तै नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री वडा र प्रहरी चौकीलाई जग्गा प्रदान गर्ने सबैलाई धन्यवाद दिइन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्टले खानीगाउँमा निर्माण हुने प्रहरी चौकीबाट प्रहरीको कार्यसम्पादन सहज र अपराध अनुसन्धानमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रम बोल्दै समाजसेवी भोलानाथ शर्माले सबैको सकारात्मक साथ र सहयोगले सामाजिक कार्यमा निरन्तर जागरुक हुन हौसला प्राप्त भएको बताए । गाउँमा प्रहरी चौकी भवन निर्माणका लागि जग्गा तथा आर्थिक सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरे । भवन निर्माणका लागि आर्थिक सहयोग गरिदिन तिनै तहका सरकार तथा सहयोगीहरुलाई शर्माले आग्रह गरेका छन् ।
नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ५ खानीगाउँका अध्यक्ष नारायण प्रसाद लामिछानेको स्वागत मन्तव्य र कार्यपालिका सदस्य चन्द्रबहादुर नेपालीले संचालन गरेका थिए ।

