19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतमा निर्वाचन आचारसंहिता सम्बन्धि संचारकर्मीबीच अन्तरक्रिया सम्पन्न

२३ माघ पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका बिषयमा पर्वतमा निर्वाचन आचारसंहिता सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।  पर्वत जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय र संचारकर्मीहरुबीच शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन आचारसंहिता, निर्वाचनको तयारी तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।

कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाैडेलले निर्वाचन आचारसंहिता सबैले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो।

त्यसैगरी, पर्वतका निर्वाचन अधिकृत बुदिराम उपाध्यायले निर्वाचनको तयारीबारे जानकारी गराउँदै मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, निर्वाचन सामग्री ढुवानी तथा कर्मचारी परिचालनका कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई विश्वसनीय र पारदर्शी बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल  उपरीक्षक क्षितिज क्षेत्रीले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा योजना तयार भइसकेको जानकारी दिँदै मतदान केन्द्र, निर्वाचन सामग्री तथा मतपेटिकाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो। उहाँले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन आचारसंहिता, सूचना प्रवाह तथा सुरक्षा व्यवस्थासम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रमले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ।

ताजा

Related Articles