१ फागुन,पर्वत- कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो पार्टी नेपालका पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार याम बहादुर चोचाङ्गीले आफ्नो ७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। शुक्रबार कुश्मामा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले विकास, सुशासन र प्रविधिमैत्री समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो योजना प्रस्तुत गर्नुभएको हो। देशमा सुशासन र समृद्धिका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो पार्टीलाई बल्ब चिन्हमा मतदान गरि विजयी गराउन उहाँले अपिल गर्नुभएको छ ।
चोचाङ्गीले पहिलो प्रतिबद्धताका रूपमा पानी र हावाको पुनः प्रयोगमार्फत एकैसाथ विद्युत उत्पादन गर्ने प्रविधि विकास गर्ने योजना अघि सार्नुभएको छ। उक्त प्रविधिबाट नेपालमा हाल चर्चा गरिने ८३ हजार मेगावाट क्षमताभन्दा धेरै, १ करोड मेगावाटसम्म विद्युत उत्पादन सम्भव हुने दाबी उहाँले गर्नुभएको छ।
त्यसैगरी भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नागरिक निगरानी समूह गठन गर्ने, कृषि क्षेत्रको अधिकतम विकासका लागि देशभर ७ लाख २ हजार कृषि प्रहरी परिचालन गर्ने तथा बाँझो कृषि जमिनलाई उत्पादनमा जोड्ने योजना पनि उहाँको प्रतिबद्धतामा समेटिएको छ।
पूर्वाधार विकासलाई तीव्रता दिन ३ लाख ६० हजार पूर्वाधार प्रहरी गठन गर्ने, आविष्कार बैंक स्थापना गरी विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक र प्रविधिको क्षेत्रमा अग्रणी बनाउने नीति निर्माण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
गाउँ तथा शहरमा भइरहेका सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ‘इलेक्ट्रिक रोड’ अवधारणा लागू गरी सुरक्षित यातायात प्रणाली विकास गर्ने योजना समेत उहाँले अघि सार्नुभएको छ। शिक्षा, स्वास्थ्य तथा ऊर्जा क्षेत्रमा सबै नागरिकलाई मालिक बनाउने सोचका साथ समावेशी विकास मोडेल अघि बढाउने प्रतिबद्धता पनि चोचाङ्गीले व्यक्त गर्नुभएको छ।
उहाँले मतदातालाई व्यक्ति वा पार्टीभन्दा माथि उठेर उम्मेदवारले प्रस्तुत गरेका आर्थिक, सामाजिक, राजनीतिक तथा भौतिक विकासका एजेण्डालाई मूल्याङ्कन गरी मत दिन आग्रह गर्नुभएको छ। आफ्नो योजना व्यवहारिक र दीर्घकालीन सोचमा आधारित रहेको दाबी गर्दै सचेत मतदाताबाट समर्थन पाउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

