१८ भदौ २०८३, पर्वत-पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयमा सञ्चालित ट्याग परियोजना (TAG) कार्यक्रम अन्तर्गत सिकाइ आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ट्याग कार्यक्रममा आवद्ध किशोरकिशोरीहरुको सिकाई अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लिमिठाना माबिमा यहीँ भदौ १४ गते सम्पन्न भएको हो ।
कार्यक्रममा ट्यागका सहभागीहरूले विगत सात हप्तासम्म हासिल गरेका ज्ञान, सीप, अनुभव तथा उपलब्धिहरू प्रस्तुत गरेको ट्याग परियोजना कोडिनेटर रमा भुसाल पोख्रेलले जानकारी दिनुभयो ।
सात हप्ताको सिकाइ तथा उपलब्धिलाई अभिभावक, विद्यालय, जनप्रतिनिधि तथा समुदायका सरोकारवालासमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको उक्त कार्यक्रमले पुस्तकालय, परिवार, विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो ।
सहभागीहरूले कार्यक्रममार्फत आफूमा आएको सकारात्मक परिवर्तन, प्रविधिसम्बन्धी ज्ञान, नेतृत्व क्षमता तथा सिकाइका अनुभवहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फलेवास नगरपालिका -७, लिमिठानाका वडा अध्यक्ष केशर पन्त, मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका उपाध्यक्ष पूर्णप्रसाद सापकोटा,पुस्तकालयका लाइब्रेरीयन इन्द्रप्रसाद सापकोटा, TAG Coordinator रमा भुसाल, मेन्टर शिक्षक, ट्याग कार्यक्रममा सहभागीका अभिभावक, विद्यालयका प्रतिनिधि लगायतले TAG कार्यक्रमको प्रभावकारिता, उपलब्धि तथा सहभागीहरूमा आएको सकारात्मक परिवर्तनबारे धारणा व्यक्त गर्नुभएको थियो ।
अभिभावक तथा विद्यालयका प्रतिनिधिहरूले TAG कार्यक्रमले किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सञ्चार तथा प्रस्तुति सीप, प्रविधिसम्बन्धी ज्ञान र सामाजिक सचेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा लिमिठाना माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयराज पौडेल, विभिन्न जनप्रतिनिधि, पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, TAG सहभागी, कार्यक्रमसँग सम्बन्धित कर्मचारी तथा पुस्तकालयका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका उपाध्यक्ष पूर्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा TAG सहभागी निर्मान तिवारीले स्वागत मन्तव्य र सञ्चालन TAG सहभागी युनिशा भुसालले गर्नुभएको थियो ।

