28.1 C
Kathmandu
Tuesday, July 16, 2024

नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १ सय ७६ पुग्यो!

काठमाण्डाै / नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।

प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्त्वका आधारमा मतदान गरेको बताउनुभयो । उहाँले नेपालले राष्ट्र सङ्घको निकायमा भएको मतदानमा अहिलेसम्म भएका चार मत युक्रेनको पक्षमा हालेको पनि बताउनुभयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘रुस र युक्रेनबीच जोडिएका विषयहरू पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसाबले अहिले यूएनमा इमर्जेन्सी स्पेशल सेसन चलिरहेको छ । हामीले महत्त्वका आधारमा चार पटक युक्रेनकाे पक्षमा मतदान गरेका छौँ ।’

प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलङ्का र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनुभयो । उहाँले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताउनुभयो ।

ताजा

Related Articles