25.1 C
Kathmandu
Monday, July 22, 2024

बागलुङ ट्राफिक ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रण अभियानमा

बागलुङ-जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ। आफुखुसी स्वरुप परिवर्तन गरी चलाइएका एक सय भन्दा बढी मोटरसाईकलका चालक कारवाहीमा परेका छन् । विगत १ महिना देखी स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाईकललाई नियन्त्रणमा लिइएर कारवाही गरेको हो ।

विशेष गरी पल्सर, क्रस फायर र बुलेट मोटरसाईकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख राजकुमार केसीले बताउनु भयो । आफु खुसी साइलेन्सर पाइप फेर्ने, साइलेन्सर पाइपमा प्वाल पारी ठूलो आवाज निकाल्ने, सिट उचाल्ने, लुकिङ ग्लास नराख्ने वा पहिलेको स्वरुप बदल्ने गरेको पाइएको छ । यातायात व्यवस्था ऐन अनुसार कुनै पनि सवारी साधनको रङ परिवर्तन गर्नु परे यातायात व्यवस्था कार्यालयको पूर्वस्विकृति लिनुपर्छ ।

कम्पनीबाट बनेको आएको रङ आफू खुसी परिवर्तन गर्न पाइन्न । त्यस्तै स्वरुप परिवर्तन गर्न नपाइने व्यवस्था छ ।अधिकांश युवा पुस्ताले चलाउने मोटरसाइकलमा स्वरुप परिवर्तन गर्ने गरेको भेटिएकोले नियन्त्रणमा लिएर पहिलेकै स्वरुपमा ल्याएपछि मात्रै छाड्ने गरिएको केसीले बताउनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेको ट्राफिक समस्यालाई नयाँ योजना सहित तिव्र रुपमा सुधार गर्ने काम थालेको छ ।

भर्खरै जिल्लाको ट्राफिक प्रमुखमा आएका राजकुमार केसीले जिल्लाका वस्तुस्थिति बुझेको र सो मध्ये मुख्यतः नगरको मुख्य चोकहरुमा पार्किङको समस्या, साना सावारी साधनको चापदेखि नगरका प्रमुख स्थान र राजमार्गहरुमा हुन सक्ने दुर्घटनाको पूर्वसावधानी व्यवस्थापन गर्न आफू लागि परेको बताउनु भएको छ ।

केसीले आफ्नो कार्यकालमा बिना इजाजत र पास विना चल्ने सरकारी सवारी साधन देखि सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने सवारीलाई नियन्त्रण लिएर कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।बागलुङ बजारमा बढ्दै गएको सवारी चाप, ट्राफिक व्यवस्थापन र पार्किङ सुधारको लागि बागलुङ नगरपलिकासँग सहकार्य गरेर त्यसको समाधान गर्ने तयारी भएको उहाँले बताउनु भयो ।

ट्राफिक प्रहरीलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई बदलेर सकारात्मक सोचको माहोल बनाउने गरि आफुले कार्य गर्ने केसीले बताउनुभयो । यससँगै दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सचेतना अभियानलाइ निरन्तरता दिई मापसे चेकिङमा कडाइ गरिएको बताउनुभयो ।

ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा सञ्चालन गरिरहेको नमस्ते अभियानलाई बागलुङमा थप प्रभावकारी बनाएको छ। ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नमस्ते अभियान सञ्चालन गरेको थियो । नमस्ते अभियान अन्तर्गत डियूटीमा खटिएको ट्राफिकले चेकिङ गर्नुपूर्व चालकलाई सौहार्दपूर्ण ढंगले नमस्ते गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विशाल परियारले बताउनु भयो ।

सुरुमा ट्राफिक प्रहरीले सवारी रोक्छ र नमस्कार गर्ने र त्यसपछि सवारी रोक्नु पर्नाको कारण चालकलाई बताईन्छ र ब्लुबुक तथा लाईसेन्स के के चेक गर्नुपर्ने हो चेक गरिन्छ। चेकिङ सकेर चालकलाई जाने अनुमति दिएपछि पनि नमस्कार गरेर बिदाई गरिन्छ।योसँगै ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरुको पालना, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने लगाएतका विषयमा सचेतना कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

ताजा

Related Articles