28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतमा करोडौंका सडक ठेक्का- काम भने अलपत्र

पर्वत-जिल्लाका विभिन्न ग्रामीण सडक निर्माणका लागि करोडौंका ठेक्का स्वीकृत भएर पनि काम भने अलपत्र परेका छन् । ग्रामीण बस्ती जोड्ने संघ र प्रदेश सरकारअन्तर्गत निर्माण प्रक्रियामा गएका सडक अलपत्र हुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य छन् ।

गत मंसिरमै सक्ने गरी १० किलोमिटर दुरीको जलजला गाउँपालिकास्थीत मिलनचोक–धाइरिङ सडक (२६ करोड) को ठेक्का लाग्यो । हिन्दु एन्ड थोकर जेभिले ठेक्का लिएको सडक कोभिडका कारण समयमै काम सम्पन्न हुन नसक्ने भएपछि पूर्वाधार विकास कार्यालय पर्वतले एक वर्ष म्याद थप्यो । आगामी मंसिरमा सडक सम्पन्न हुनुपर्नेछ । तर, सडक कालोपत्र त परको कुरा, काम सुरुसम्म पनि भएको छैन । कुस्मा नगरपालिका र फलेबास नगरपालिका जोड्ने दोबिल्ला फलेबास (१० किमि) सडकको निर्माण समय पनि आउँदो असोजमा सकिँदै छ । उक्त सडकका लागि २३ करोडको ठेक्का छ । फेवा प्यासिफिक जेभिले पाएको उक्त सडकको काम पनि उस्तै छ । सडकको केही भाग कालोपत्रे भएपछि ठेकेदार कम्पनी सम्पर्कविहीन छ ।

त्यतिमात्रै होइन, जिल्लाका सबैजसो गौरवका सडक आयोजना, ससाना उपभोक्ता समितिमार्फत हुने सडक आयोजनाका कामसमेत अलपत्र छन् । उपभोक्ता समितिमार्फत हुने ससाना आयोजनाका काम समेत चालु आर्थिक वर्षभित्र सम्पन्न हुने संकेत छैन । ओमबुद्ध निर्माण कम्पनीले ठेक्का पाएको लुङ्खु–मिलनचोक–बालाकोट ५ किमि सडकको हालत पनि उस्तै छ । हिउँदका समयमा केही थान ग्याभिन जाली भर्ने र नाली बनाउने काम गर्दागर्दै रोकिएको काम अहिलेसम्म नियमित हुन सकेको छैन । ११ करोड लागतमा कालोपत्र सुरु गरिएको उक्त काम आगामी मंसिरमा सकिनुपर्छ । कार्यालयका अनुसार उक्त सडकको काम हालसम्म ५० प्रतिशत पनि भएको छैन । चिसापानी–हुवास–पोखराचौर–खहरेखोला (दोस्रोखण्ड) ८ किलोमिटर सडकको काम ३० प्रतिशत मात्रै भएको छ । ओमबुद्ध कमलजित जेभीले ठेक्का पाएको १६ करोड लागतको उक्त सडकको कालोपत्र आउँदो असारमा सक्नुपर्ने हो । तर, हालसम्म उक्त सडकको भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ ।

ठेक्का सम्झौता भएर पनि समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई नियामक निकायले कारबाही गर्नुको सट्टा मिति थपेर प्रोत्साहन गर्ने गरेको सर्वसाधारणको आरोप छ । उपभोक्ता समिति, दबाब समूह, लाभग्राहीलगायत कसैले पनि त्यस्ता व्यवसायीलाई भरपर्दो कारबाहीको दायरामा ल्याउन नसक्दा ठेक्का ओगट्ने तर काम नगर्ने प्रवृत्ति बढेको छ । चालु वर्ष समयमै काम नसकिनुलाई व्यवसायीले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिलाई दोष दिन्छन् । व्यवसायी अच्युतकृष्ण श्रेष्ठका अनुसार गत वर्षको तुलनामा फलामे डन्डीको मूल्य ३० प्रतिशतभन्दा धेरै बढेको छ । ‘रडको मूल्य डेढ गुणा बढेको छ,’ उनले भने, ‘प्राविधिकले अघिल्लो वर्षकै मूल्य राखेर स्टमेट गर्छन् । अनि काम गर्न समस्या हुन्छ ।’

पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले लागत बढेर काम गर्न नसकेको जनाउनु बाहना मात्रै हो । ‘मूल्यवृद्धिका कारणले काम गर्दिन भन्न पाइँदैन,’ आचार्यले भने, ‘लिक्विडिटी ड्यामेज (पूर्वनिर्धारित क्षतिपूर्ति तिराउने) गर्नुपर्छ । त्यो व्यवस्था छ ।’

व्यवसायीले समयमा काम नसकेकै कारण कार्यालयको चालु वर्षको पुँजीगत खर्च ५० प्रतिशत पनि पुगेको छैन । कार्यालयका अनुसार चालु वर्ष सडक, पुललगायतका लागि ६५ करोड हाराहारी बजेट भएकोमा असार ३ सम्म ३० करोड मात्रै खर्च भएको छ । ‘यही गतिमा काम हुँदा यो महिनाभरि अब १० करोड मात्रै निकासा हुने देखिन्छ,’ कार्यालयका लेखापाल लीला गौतमले भने, ‘नभएका कामको भुक्तानी दिएर आर्थिक प्रगति मात्रै देखाएर भएन । काम भएको छैन ।’ संघ र प्रदेशबाट आउने योजना ससाना भएको, उपभोक्ता समितिले पनि समयमै काम गर्न चासो नदेखाएको लगायत कारणले पनि सडक निर्माणका आयोजना समयमै नसकिएको प्राविधिक बताउँछन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ । 

ताजा

Related Articles