पर्वत–कुश्मा नगरपालिकालाई वालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कुश्मालाई २०८३ चैत मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो । बालमैत्री शासनका विज्ञहरु, कुश्मा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, सामाजिक विकास कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको बिचमा आज बालमैत्री शासनका बारेमा अन्तरक्रिया गरिएको थियो । “बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम“ सामाजिक विकास कार्यलय पर्वत र कुश्मा नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामचन्द्र जोशीले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि बालबालिकाको बचाउ, संरक्षण, बिकास र सहभागितालाई सुनिश्चित गर्दै आगामी २०८३ चैत मसान्त सम्म कुश्मा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बालमैत्री शासनका सबै सूचक पुरा गर्ने गरि नगरका योजना बन्ने सुनाए । नगरपालिकाको एक्लो प्रयासले मात्रै काम सम्पन्न नहुने भएकाले सबै सरोकारवालाहरुले यसमा सकरात्मक अभियान सञ्चालन गर्नुपर्ने नगरप्रमुख जोशीको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले नगरपालिकाले बालमैत्री शासनका लागि आवश्यक तयारी र पूर्वाधार निर्माणमा ध्यान दिने बताए । शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले बालमैत्री शासनका लागि सरकारको मात्रै प्रयास प्रर्याप्त नहुने भन्दै विद्यालयका शिक्षक, अभिभावकहरुले पनि भूमिका खेल्नुपर्ने उल्लेख गरे । उनले बालमैत्री नीति मात्रै बनेर नहुने र सोचमै बालमैत्री धारणा बन्नुपर्नेमा जोड दिए । सामाजिक विकास समितिका संयोजक तथा कुश्मा ६ का वडाध्यक्ष ईश्वर गिरीले सामाजिक विकास शाखा सहित सबै विषयगत शाखाले आवश्यक तयारीमा लाग्ने सुनाए । नगर कार्यपालिकाका सदस्य तथा कुश्मा नगरपालिकाका शाखा प्रमुखहरुको हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण गण्डकी प्रदेशका राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले गर्नुभएको थियो भने कार्यक्रम संचालन कुश्मा नगरपालिकाका महिला विकास निरीक्षक बुद्ध कुमारी अर्यालले गरेकी हुन । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत कुमान सिंङ गुरुङ ,नगरकार्यपालिकाका सम्पूर्ण सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला पत्रकार महासंघका अध्यक्ष, जिल्ला बाल सञ्जालका अध्यक्ष ,अपाङ्ग उत्थान समाज लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो ।