23.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवासमा ‘हाईटेन्सन’ लाईनको विषयमा सरोकारवाला र स्थानीयसँग छलफल

पर्वत- फलेवास नगरपालिकाले कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटुवाल खण्ड अन्तर्गत देविस्थान क्षेत्रमा पर्ने प्रशारण लाईनको विषयका यहाँमा स्थानीय र सरोकारवालासँग छलफल गरेको छ । फलेवास नगरपालिका–६ देवीस्थानमा निर्माणाधिन फलेवास रङ्गशाला र बिद्यालयमा कालीगण्डकी विद्युत् प्रसारण लाइनका तीन वटा टावरहरु पङ्क्तिबद्ध रूपमा निर्माण गर्न लागेको भन्दै देविस्थानबासीले त्यसको विरोध गर्दै आइरहेका थिए । हाईटेन्सन लाईनको ‘टावर’ ले रंगशाला र विद्यालयमा पार्ने असर बारे नगरप्रमुख गंगाधर तिवारीको नेतृत्वमा गएको टोलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग छलफल गरेको थियो ।


घिसिङले ‘अलाइनमन्ट’ को दक्षिण तर्फबाट विद्यालयहरू र खेल मैदान जोगिने गरी प्रसारण लाइन लैजाने, प्रस्तावित ‘अलाइनमन्ट’ को उत्तरतर्फबाट उपयुक्त मुआब्जा दिई प्रसारण लाइन लैजाने वा दुवै विकल्प समेतबाट प्रसारण लाइन लैजान प्राविधिक रूपमा असम्भव भएमा अहिलेकै प्रस्तावित ‘अलाइनमन्ट’ बाट खेलकुद मैदान र विद्यालय क्षेत्रमा न्यूनतम क्षति हुने गरी प्रसारण लाइन लैजाने विकल्प दिएका थिए । तिन बिकल्प माथि बिहीवार देविस्थानबासी सँग छलफल भएको हो ।
नगरपालिकाले स्थानीय राजनीतिक दलहरु तथा स्थानीय समुदायसँग गरेको छलफल अनुसार रंगशाला भन्दा पश्चिमदक्षिण कालीगण्डकी नदीतर्फबाट प्रशारण लाई लग्ने विकल्प प्रयोग गरी रंगशाला र विद्यालय लगायतका पूर्वाधारहरुमा क्षती नपु¥याई आवश्यक टावरहरु थप गरी लाईन विस्तारको कार्य अगाडि बढाउन सर्वदलिय र स्थानीयवासी सहमत भएको र नेपाल विद्युत प्राधिकरणलाई पनि सोही अनुसार अनुरोध गर्ने निर्णय भएको फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख तिवारीले ‘हाइटेन्सन’ लाइनले विद्यालय र रङ्गशाला असर नपर्नेगरी निर्माण गरिने बताउनु भयो । उहाँले जनताको भावना र मर्म अनुसार विकास निर्माणका कार्य अगाडि बढाउने धारण राख्नुभयो । नगरप्रमुख तिवारीले फलेवासका नागरिकले हाईटेन्सन लाईन निर्माण कार्यमा अवरोध गरेको भन्दै भ्रम फैलाउने काम भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनु भयो । ‘हाइटेन्सन लाइनले विद्यालय र रङ्गशाला असर गर्ने भएपछि नागरिकले त्यसको विरोध गर्नु स्वाभाविकै हो, हामी ‘हाइटेन्सन’ रोक्ने पक्षमा छैनौँ तर, रंगशाला र विद्यालयमा क्षती हुनपनि दिने छैनौँ, तिवारीले भन्नुभयो ।
साथै नगरपालिकाले कालीगण्डकी करिडोर प्रसारण लाईन विस्तारको लागि विभिन्न विकल्पहरु प्रदान गरेकोमा नेपाल प्राधिकरणलाई धन्यवाद समेत व्यक्त गरेको छ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि बुटवलसम्मका दुई सय ३३ ओटा मध्ये दुई सय ३० ओटा टावरहरूको निर्माण कार्य पूरा भइसकेको छ ।

ताजा

Related Articles