पर्वत- पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा भदौ ६ गतेबाट करिब एक हप्ता दिउँसोको समयमा बिद्यूत आपूर्ति बन्द हुने भएको छ।
अर्मादी फिडरबाट विद्युत सेवा विस्तार गरिएका कुश्मा नगरपालिकाको छमर्के, अर्मादी, सहस्रधारा, मालढुङ्गा, खुर्कोट र पाङ तथा जलजला गाउँपालिकाको नाङ्लीवाङ, बनौँ र गाइखुरेमा विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।
पर्वत वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने ती स्थानहरुमा विद्युत लाइन वरीपरी रहेका रुख, बाँस, घाँस काट्ने तथा ती लाइनमा प्रयोगमा रहेका ट्रान्सफर्मरहरुको मर्मत पनि गर्न लागिएकाले भदौ ६ गतेदेखि ११ गतेसम्म विद्युत अबरुद्ध हुन लागेको हो। पर्वत वितरण केन्द्रबाट खटिएर जाने कर्मचारीहरुले बिहान १० बजेदखि साँझ ५ बजेसम्म रुख कटान तथा मर्मतको काम गर्ने छन्।
काम चलिरहेको अवस्थामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टा बिद्युत अवरोध हुने भए पनि बिहान र साँझको समयमा भने नियमित रुपमा नै विद्युत आपूर्ति हुने केन्द्र प्रमुख गोसलीले बताउनुभयो। आज खुर्कोट क्षेत्रमा विद्युत मर्मत भइरहेको र मर्मत हुने अन्य ठाउँमा पनि एकैपटक विद्युत अबरुद्ध नभएर मर्मतको काम हुने ठाउँमा मात्र अबरुद्ध हुने उहाँले बताउनुभयो । केन्द्रले विद्युत लाइनमा आएका समस्याहरुको मर्मत समयमा नै नगरेमा त्यसले दुर्घटना निम्त्याउने उच्च जोखिम हुने भएकाले केन्द्रबाट जाने कर्मचारीहरुलाई सहयोग गर्न स्थानीय नागरिकलाई अपिल पनि गरेको छ।
कुश्मा र जलजलाका विभिन्न ठाउँमा एक हप्ता दिउँसो बिद्युत अबरुद्ध हुने !

