पर्वत-समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवस तथा गण्डकी प्रदेशको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ । उक्त भेलामा विभिन्न निर्णयहरु गरिएको छ । साधारण सदस्य फाराम यहीँ भदौभित्र भरिसक्नुपर्ने, जिल्ला अधिवेशन असोज १५ सम्म गर्ने र प्रदेश अधिवेशन कार्तिक १५ गतेभित्र गरिसक्ने निर्णय भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार समाजको ऐना भएकाले सत्य र तथ्य गतिविधि प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । पेशागत मर्यादाको ख्याल् गर्दै पार्टीका गतिविधि जनतामाझ पुर्याउन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रम बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारहरुको हक हितमा महानगरको साथ र सहयोग रहने बताउनुभयो ।
समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठले सत्य र न्यायको पक्षमा समाजवादी प्रेस संगठन अडिग रहेको बताउदै गलत प्रवृत्तिको बिरोध गर्ने बताउनुभयो । छोटो समयमै देशका सबै जिल्लामा संगठन बिस्तार गर्न सफल भएको बताउदै स्वच्छ छवि भएका पत्रकार समाजवादी प्रेस संगठनका आबद्ध भएको बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तुल बहादुर गुरुङ, चुडामणी जंगली, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष बिश्वमणी सुवेदी, वरिष्ठ पत्रकार नवराज सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजवादी प्रेस संगठन नेपालका विभिन्न जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिले आ-आफ्नो जिल्लाको रिपोर्टिङ गर्नुभएको थियो ।
समाजवादी प्रेस संगठन नेपाल कास्की शाखाका संयोजक गणेश बरालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गण्डकी प्रदेश संयोजक गणेश पौडेल र इन्चार्ज श्रीराम सिग्देलले गर्नुभएको थियो ।
समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवस तथा गण्डकी प्रदेशको प्रथम भेला सम्पन्न !

