28.1 C
Kathmandu
Monday, July 15, 2024

समाजवादी प्रेस संगठन नेपाल पर्वतको बैठक सम्पन्न,चुनावी गतिविधि प्रसारमा जोड दिने !

पर्वत- समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्वतको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । सोमबार कुश्मामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा संगठनको भुमिका, बाम लोकतान्त्रिक गठबन्धन सम्बद्ध पत्रकारहरुसँग सहकार्य गर्ने, समाचार संकलनका लागि प्रत्येक पालिकामा संगठनका सदस्यहरुलाई सक्रिय गराउने लगायतका निर्णय गरिएको समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । 

निर्वाचन आयोगको आचारसंहितामा रहेर चुनावी गतिविधि प्रसारमा जोड दिन उहाँले सबै संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न संचारकर्मीको पनि महत्त्वपूर्ण भुमिका रहेको बताउदै समाजवादी प्रेस संगठनले सोही अनुसार आफ्नो भुमिका निर्वाह गर्ने विश्वकर्माले बताउनुभयो । बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलले संचार माध्यमले सत्य तथ्य, निश्पक्ष र सन्तुलित गतिविधि प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । राजनीतिक दलले घोषण गरेका प्रतिबद्धता कार्यान्वयन गराउन पत्रकार र संचार माध्यमको अहम् भुमिका रहने उहाँको भनाई थियो । नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिक उम्मेदवार बन्नुभएका संगिता सुवेदीले मुलुकको संविधान र लोकतन्त्रको रक्षा गर्दै समग्र पर्वतको विकासका लागि संयुक्त गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । आफुले जेष्ठ नागरिक, एकल महिला, दलित र पछाडि पारिएका वर्गको सामाजिक सुरक्षाको सुनिश्चितताको लागि जोड दिने बताउदै समानुपातिक तर्फ कलम चिन्हमा मतदान गर्न सबै पर्वतवासीमा सुवेदीले अनुरोध गर्नुभएको छ । बैठकमा केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा राष्ट्रिय भुमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्ण लम्साल र समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेल लगायतले बोल्नुभएको थियो ।

ताजा

Related Articles