पर्वत- मंसिर ४ मा हुन लागेको चुनावी सरगर्मी बढेसँगै पर्वतमा एमालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन्। जलजला गाउँपालिकाका एमालेका प्रभावशाली नेता गोविन्द आचार्यसहित दर्जनौं कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
जलजला वार्ड नम्वर ७ धाईरिङमा नेकपा एमालेमा दुई कार्यकाल वडा कमिटी अध्यक्ष एवं एमाले जिल्लाखानेपानी विभागका सदस्य समेत रहेका आचार्यले एमालेको नीति मन नपरेका कारण पार्टी परित्याग गरेको बताए।
२०४६ साल देखि कम्युनिष्ट आन्दोलनमा लागेका आचार्य अखिल नेपाल किसान संघ धाईरिङ गाउँ कमिटीमा समेत रहेर काम गरेका थिए। एमालेमा रहेर उत्पीडित जनसमुदायको हितमा काम गर्न नसक्ने निष्र्कषसहित माओवादी केन्द्रमा प्रवेश गरेको आचार्यले बताए।
आचार्यले परिवर्तनकारी र सच्चा कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र रहेको भन्दै माओवादीमा रहेर सामाजिक सेवा गर्न चाहेको बताए। आचार्यले भने “अब माओवादी केन्द्रमा रहेर सामाजिक सेवामा लाग्ने ईच्छा छ, नेकपा एमाले नामधारी कम्युनिष्ट मात्र रहेको जिकिर गरे।” देशको विकास र समृद्धि माओवादीबाट मात्र सम्भव रहेको समेत आचार्यले बताए।

