17.1 C
Kathmandu
Thursday, April 30, 2026

पर्वतका १४८ मतदान केन्द्रमा मतदान अधिकृत सहित कर्मचारी खटाइयो! ।

पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना  मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आठ जना जनशक्ति खटाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी चार वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकोले स्थानीय तहको निर्वाचनको तुलनामा बढी जनशक्ति परिचालन गरिएको हो ।
जिल्लाबाट एउटा बुथको लागि आठ जना खटाइएको भए पनि स्थानीय स्तरमा मतदान अधिकृतले थप चार जना स्वयंसेवक नियुक्ती गरेर मतदान सम्पन्न गराउने गरी जिम्मेवारी दिइएको छ । १४८ मतदान केन्द्रमा थप ५९२ जना स्वयंसेवकहरु स्थानीय रुपमा नियुक्ति गर्दा निर्वाचनको लागि पर्वतमा कुल एक हजार ७७६ जना कर्मचारीहरु परिचलान हुँदै छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलवार सार्वजनिक गरेको कर्मचारीको खटनपटन सम्बन्धी सूचनामा जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरुलाई निर्वाचनमा खटाइएको जानकारी दिइएको छ ।
पर्वतमा ७४ मतदान स्थलमा १ सय ४८ वटा मतदान केन्द्र निर्धारण गरिएका हुन् । कुश्मा नगरपालिकाका १७ स्थानमा ३८ वटा, महाशीला गाउँपालिकाका ७ स्थानमा ११ वटा, फलेवास नगरपालिकाका १४ स्थानमा २८ वटा, मोदी गाउँपालिकाका १० स्थानमा २३ वटा, बिहादी गाउँपालिकाका ७ स्थानमा १३ वटा, जलजला गाउँपालिकाका १२ स्थानमा २१ वटा र पैयुँ गाउँपालिकाका ७ स्थानमा १४ वटा मतदान केन्द्र राखिएका छन् ।
जिल्ला सुरक्षा समितिको बैठकले गत स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर मतदान स्थलहरूलाई ती वर्गमा विभाजन गरेको छ । जिल्लाका ३५ वटा मतदान स्थललाई अति संवेदनशील, ३१ वटा मतदान स्थललाई संवेदनशील र ८ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ ।

ताजा

Related Articles