28.1 C
Kathmandu
Monday, July 15, 2024

स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका प्रत्याशीद्वारा महाशिलाको विकासमा चासो!

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको विकासमा विभिन्न राजनैतिक दलहरू तथा स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका प्रत्याशीले चासो देखाएका छन् । आइतबार पालिकाको कार्यालयमा पुगेर उनिहरुले महाशिलामा भैरहेका गतिविधिहरुको बारेमा जानकारी माग गरेका हुन् । महाशिलाको विकासमा भैरहेका काम, उपलब्धि, भावि योजना र खर्चको बारेमा जानकारी माग गरिएको नेपाली काँग्रेस पर्वतका सचिव तथा गत बैशाख ३० को स्थानीय निर्वाचनमा गठबन्धनबाट महाशिला गाउँपालिकाका अध्यक्षका प्रत्याशी अशोक उचै ठकुरीले जानकारी दिनुभयो ।
महाशिलाको आर्थिक, भौतिक तथा सामाजिक विकास ,शिक्षा, स्वास्थ्य, कृषि, पशु,पर्यटन लगायतका क्षेत्रमा भएको उपलब्धि र त्यसको विवरण उपलब्ध गराउन अनुरोध गरिएको उहाँले बताउनुभयो । निर्वाचनमा पराजित भएपनि आफुलाई प्राप्त जनमतको कदर गर्दै महाशिलाको विकास र समृद्धिमा जोड दिएर असल प्रतिपक्षको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पालिकामा भएका हरेक गतिविधि सबैलाई जानकारी हुनुपर्ने बताउदै महाशिबासीले पनि पालिकाले संचालन गरेका कार्यमा चासो दिनुपर्ने ठकुरीले बताउनुभयो ।
पालिकाको विकास,सुशासन, पारदर्शिता र जवाफदेहीतामा स्थानीय सरकारले जोड दिनुपर्ने नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव तथा स्थानीय तह निर्वाचनमा महाशिला गाउँपालिकाका उपाध्यक्ष पदका प्रत्याशी बिराज हमालले बताउनुभयो । आवश्यकता र औचित्यका आधारमा पालिकाको ६ वटै वडामा समान विकास हुनुपर्ने,विकास निर्माणमा पक्षपात गर्न नहुने, न्यायिक तवरले कार्य सम्पादन गर्नुपर्ने, उपभोक्ता समितिद्वारा हुने कार्य गुणस्तरीय र प्रभावकारी हुनुपर्ने लगायतका बिषयमा जोड दिन हमालले आग्रह गर्नुभयो । स्थानीय निर्वाचनमा जनताले दिएको मतको कदर गर्दै सधैं जनताको सेवामा समर्पित हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । हमालले भन्नुभयो ” हामीलाई स्थानीय निर्वाचनमा महाशिलावासीले दिएको मतको सम्मान गर्छौ, केही मतले पराजित भएपनि सधैं जनताको साथमा रहेर काम गर्छौं ।”
महाशिला सरकारले गरेका राम्रा कार्यमा सकारात्मक सहयोग गर्ने र गलत कार्यमा सधैं खबरदारी गर्ने हमालले बताउनुभयो ।
स्थानीय सरकारले गरेका कार्यमा चासो राखेर प्रतिपक्षको भुमिका निर्वाह गर्नु सकारात्मक कुरा भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।
सबैको सकारात्मक सुझाव सल्लाहले पालिकाको विकास कार्यमा पृष्ठपोषण मिल्ने उहाँको भनाइ छ । पालिकाको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,रोजगार लगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरू भैरहेको अध्यक्ष भुसालले बताउनुभयो ।
विकास निर्माण र हरेक कार्यमा कसैलाई पक्षपात नगरी स्थानीय सरकारको प्रत्याभूति दिलाउने तरिकाले काम गर्ने गाउँपालिकाका उपाध्यक्ष धनसुवा बिकले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनप्रतिनिधि सबैको साझा भएको र कसैलाई पक्षपात नगरी समान विकासमा जोड दिने उहाँले बताउनुभयो ।
श्रावण महिनादेखि हालसम्मको विकास कार्य र त्यसमा भएको खर्चको विवरण माग गर्नुभएको र उक्त विवरण आज लिखित रुपमा उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले जानकारी दिनुभयो । गाउँपालिकाले विकास, सुशासन र पारदर्शितामा जोड दिएको उहाँको भनाइ छ । पालिकाले संचालन गर्ने गतिविधिको बारेमा चासो राख्नु सकारात्मक भएको बताउदै सबैको सुझाव सल्लाह, सहयोग र सहकार्यले कार्य सम्पादनमा सहज हुने पराजुलीले बताउनुभयो ।
नेपाली काँग्रेस महाशिलाका सबै वडा समितिका सभापतिहरु, स्थानीय निर्वाचनका उम्मेदवारहरु लगायत राजनैतिक दलका प्रतिनिधिहरु पालिकाको गतिविधि बुझ्न पलिकामा पुगेका थिए ।

ताजा

Related Articles