12.1 C
Kathmandu
Saturday, February 7, 2026

जलजला गाउँपालिकाले सेवालाई सहज बनाउन वडा–वडामा पुगेर घुम्ती शिविर सञ्चालन

पर्वत-पर्वतको जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गर्न शुरु गरेको छ।

गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यता अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरेर सेवा दिन थालिएको हो। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार गाउँपालिकामा आएर सेवा लिँदा सेवाग्राहीले धेरै यात्रा गर्नुपर्ने तथा उनीहरूको समय धेरै खर्च हुने भएकाले शिविर अभियान शुरु गरिएको हो।

गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी नौवटै वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवा शिविरबाटै उपलब्ध गराउने छन्। शिविरमा सम्पत्ति तथा भूमि कर, सम्बन्धित वडाका योजना सम्झौता गर्ने, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन संकलन, व्यवसाय नवीकरण, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई जाडो छल्ने न्यानो कपडा (ब्लाङ्केट) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान भइरहेका छन्।

शिविर अभियानको पहिलो दिन सोमबार वडा नं. २ र ३ माझफाँटका वडा कार्यालयबाट सेवा प्रवाह गरिएको छ। सामान्य प्रकारका सेवा लिन पनि लामो दूरीमा जिपको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष आचार्यले बताए।

‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला। सेवा लिनकै माथि माथिबाट बेँसीमा आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ। गाडीमा आउँदा खर्च हुने, उहाँहरूको पूरै दिन जाने अवस्था छ’, उनले भने, ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरू शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ। हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरूलाई सघाउने हो।’ गत पुस १४ गते बसेको कार्यपालिकाको बैठकअनुसार शिविर शुरु भएको आचार्यले बताए।

भूमि कर तिर्नकै लागि वडा नं. ३ को कार्यालयमा पुगेका स्थानीय ६८ वर्षीय मथुरा बरुवालले दैलोमै आएको सेवाले आफूहरूलाई सजिलो भएको बताए। ‘माझफाँटबाट लामाखेत पुग्न त कठिन हुन्छ नि। गाडीमा जाऊ गाडीमा आऊ। तिर्नुपर्ने करभन्दा गाडीको भाडा धेरै जान्थ्यो’, उनले भने, ‘अब सधैँभरि यसरी नै वडाबाट काम गरिदिए हामीलाई किन गाह्रो हुन्थ्यो र? गाउँकै छोरा नातिले जितेपछि हामीलाई त सजिलो हुनैपर्छ।’

अहिले चिसोको समयमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई श्वासप्रश्वास, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिने भएकाले शिविर सँगसँगै न्यानो कपडा वितरण गर्ने काम पनि भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले बताए। शिविर सञ्चालन अवधिभर नै न्यानो कपडा वितरण गरिने भएकाले कति जनालाई सहयोग गरिन्छ भन्ने यकिन शुरुमै नहुने उनको भनाइ छ। शिविर सञ्चालनका वेला गाउँपालिकावासीले राखेको अपेक्षा पनि बुझेर आइने भएकाले जनताको अपेक्षा संकलन गरेर सोही अनुसारका योजना तयार पार्न पनि शिविर महत्त्वपूर्ण रहेको अधिकृत सुवेदीको भनाइ छ।

ताजा

Related Articles