पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा माघे संक्रान्तिको अवसरमा अध्यक्ष कप खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारासँगै वडा कार्यालय फलामखानीको आयोजना तथा दिपशिखा युवा क्लबको व्यवस्थापनमा पौष २८ देखि माघ १ गतेसम्म कार्यक्रम हुन लागेको हो । वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, दितृय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ । भलिबल प्रतियोगिताको दर्ता शुल्क ४ हजार ५ सय रहेको छ ।
फोनबाट पनि टिम दर्ता गरिने भएको छ । यहीँ पौष २७ र २८ गते ९८४६४१००२७ मा फोन गरि टिम दर्ता गर्न सकिने कार्यक्रम संयोजक समीर गुरुङले जानकारी दिनुभयो ।
बिगतका बर्षदेखि नै माघे संक्रान्तिको अवसरमा कार्यक्रम हुँदै आएको र त्यसैलाई निरन्तरता दिदै खेल,खेलाडी र संस्कृतिको विकास र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष गोविन्द बहादुर बिश्वकर्माले बताउनुभयो । कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउनको लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको मुख्य सहयोग महाशिला गाउँपालिकाले गरेको छ । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन फलामखानी कडेनी घर भै पोखरा चिप्लेढुँगामा संचालित रि युनियन एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रोपाइटर भिम बहादुर क्षेत्री र आदर्श क्षेत्रीले गर्नुभएको छ भने तृतीय पुरस्कारको प्रायोजन फलामखानी निवासी सागर सुनारले गर्नुभएको छ। त्यस्तै क्लबका खेलाडीको लागि खेलप्रेमी युवा सुर्य पोख्रेलले ७ थान जर्सी सौजन्य गर्नुभएको छ भने स्थानीय जिप संचालक नर बहादुर सुनारले २ हजार सहयोग गर्नुभएको वडा अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो। कार्यक्रमको अन्तिम दिन माघ १ गते स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ ।