28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतमा फागुन ११ गतेदेखि हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइदै

पर्वत-पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औषधी खुवाइने भएको छ । यहिँ फागुन ११ गतेदेखि औषधी खुवाउने अभियान सन्चालन गरिने भएको हो ।
अघिल्लो वर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा औषधी खुवाएर हात्तिपाईलेको संक्रमण शुन्यमा झारिने भएको छ । हात्तिपाइले विरुद्धको आम औषधी सेवन अभियान २०७९ सम्वन्धि पत्रकारसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोस पौडेलले यसवर्ष अन्तिम चरणमा औषधी खुवाउन थालिएको जानकारी दिनुभयो ।
हात्तिपाइले रोग निवारण अभियानका फोकल पर्सन तेजप्रसाद सुबेदीका अनुसार पर्वतमा हात्तिपाइले रोगको पुर्व परिक्षणमा ० दशमलव ४ प्रतिशत जनसंख्यामा हात्तिपाइलेको जीवाणु देखिएकोले यसवर्ष अन्तिम चरणमा औषधी खुवाउन लागिएको हो । गत मंसिरमा जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका १ पाङमा ३२० जनाको रगत परिक्षण गरिएकोमा १ जनामा हात्तिपाइलेको जिवाणु भेटिएको र बिहादी गाउँपालिका २ बराचौरमा ३१९ जनाको परिक्षण गरिएकोमा १ जनामा जीवाणु भेटिएको सुबेदीले जानकारी दिनुभयो ।
गतवर्ष फलेवास नगरपालिका ५ खानीगाउँ पुर्व परिक्षणमा समेत संक्रमण देखिएको थियो । हात्तिपाइलेको जीवाणु १ प्रतिशत भन्दा कम जनसंख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ । पर्वतमा ०.४ प्रतिशत संक्रमण भएको हुनाले औषधी खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ ।
हात्तिपाइले रोग बिरुद्धको औषधी जिल्लाको कुल जनसंख्या १ लाख ३२ हजार मध्ये झण्डै १ लाख २९ हजारलाई खुवाईने भएको छ । गर्भवती, ७ दिनको सुत्केरी, जटिल बिरामी र २ वर्षमुनीका बालबालिका बाहेक सबैलाई खुवाइने भएको हो ।
पर्वतमा २०६४ सालदेखी हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको हो । जिल्लामा अहिले सम्म तीन पटक पुर्व परिक्षण भैसकेको छ । विभिन्न धार्मिक मान्यता र अन्धविश्वासका कारण औषधी खाने दर कम रहेको हुनाले कुनै भ्रममा नपरी औषधी सेवन गर्न कार्यालयले अनुरोध गरेको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले हात्तिपाईले रोग र यसको औषधीका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो ।

ताजा

Related Articles