28.1 C
Kathmandu
Tuesday, July 16, 2024

राष्ट्रिय भूमि आयोग पर्वतद्धारा जलजलाका सुकुम्वासीहरुलाई जग्गाको निस्सा वितरण

पर्वत-पर्वतको जलजला गाउँपालिकाका सुकुम्वासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले निस्सा वितरण गरेको हो । गाउँपालिकाका अधिकृत तथा सुकुम्वासी र अव्यवस्थित बसोवासी सम्बन्धी सम्पर्क व्यक्ति गोविन्द जिसीले २३ जना भूमिहिन सुकुम्वासी र दलित सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थितिलाई कार्यक्रममै र नआएकालाई वडा सचिव मार्फत निस्सा पठाएको छ । अव्यवस्थित वसोवासीहरुको विषयमा भने पछि निस्सा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतका अध्यक्ष उदय सुवेदीले बताउनुभयो । निस्सा वितरणपछि वडाले घरधुरी तथा व्यक्ति यकिन गरी जग्गा व्यवस्थापन गरेपछि नापी कार्यालयसँगको समन्वयमा जग्गाधनी पुर्जा प्रदान गरिने उहाँले बताउनुभयो । जलजला गाउँपालिकाबाट अव्यवस्थित बसोबासिको ८२,भूमिहीन दलितको २४ र भूमिहीन सुकुम्बासीको ८ वटा निवेदन जिल्ला समितिमा प्राप्त भएका थिए । अन्य पालिकाहरुबाट निवेदन आउन ढिलाइ भएको सुवेदीले बताउनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्य, आयोगका अध्यक्ष सुवेदी, सदस्य मन बहादुर क्षेत्री, जिल्ला मालपोत अधिकृत मुकुन्द लामिछाने, नापी अधिकृत निशा अधिकारी लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो ।

ताजा

Related Articles