23.1 C
Kathmandu
Sunday, March 15, 2026

पर्वतको रमणीय आर्थर डाँडाखर्क गाउँ बसाइँसराइका कारण सुनसान

कुश्मा : पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ हो, आर्थर डाँडाखर्क।

गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खिँदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ।

तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन्। हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको संख्या अत्यासलाग्दो रहेको जनाउँछ।

यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन्। नजिकको शहर पोखरा, काठमाडौँ, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो। ‘घरमा आमा र बुबा बस्नु हुन्छ। हामी दुई बहिनी पोखरातिर बस्छौँ।कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो’, २१ वर्षीया सजना गुरुङले भनिन्, ‘हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन।’

गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालले बताए। ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्। विकास निर्माणका काम पनि दिन प्रतिदिन बढिरहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन’,उनले भने, ‘लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो।’

टपक्क मिलेका छपनी, ढुंगाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली र धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ।

‘कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ’, स्थानीय रूपा थापा गुरुङले भनिन्, ‘गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुङ्गाका पुराना र घुमाउने घर समेटेर गुरुङ संग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षण गर्न सजिलो हुन्थ्यो।’

आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर बनाएका छन्। ‘विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौँ’, कुश्मा बस्ने स्मृति गुरुङले भनिन्, ‘सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ।’

बिहेबारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो। त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरुङले सुनाइन्। ‘यो गाउँमा कोही मर्‍यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे’, आफू किशोरावस्थामा हुँदाको स्मरण गर्दै उनले भनिन्, ‘त्यो बेला अरघु (मृत्यु संस्कार) तीन–चार दिनसम्म हुन्थ्यो। गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। अहिले ती सबै कहानी भए। गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो।’

ताजा

Related Articles