19.1 C
Kathmandu
Friday, April 17, 2026

फलेवासमा सम्पन्न निशुल्क बृहत स्वास्थ्य शिविरमा ३ हजार बढीको स्वस्थ्य उपचार!

पर्वत-पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा सम्पन्न २ दिने बृहत  निशुल्क स्वास्थ्य शिविरमा पर्वत र बाग्लुङ जिल्लाका ग्रामीण भेगका ३ हजार ४ सय ५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
सनिवार र आइतबार संचालित शिविरमा मेडिकल सम्बन्धि १ हजार ३ सय, हाडजोर्नी सम्बन्धि १ हजार १ सय,आँखा सम्बन्धि ५ सय, स्त्रीरोग सम्बन्धि ३ सय, र दात सम्बन्धि २ सय ५ जनाले स्वास्थ्य परिक्षण गरेका धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्रका डा. बिजय गुरुङले जानकारी दिनुभयो । 
पर्वत तथा बाग्लुङ जिल्लाका ग्रामीण भेगका विभिन्न रोगबाट ग्रसित बिरामीहरुलाई लक्षित गरि लायन्स क्लव अफ काठमाडौँ देउराली दियालो काठमाडौंको आयोजना, नेपाल-भारत मैत्री अस्पताल काठमाडौंको प्राविधिक सहयोग तथा धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्रको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियोे ।
लामो समयपछि फलेवासमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा बृहत स्वास्थ्य शिविर आयोजना गरिएको र ग्रामिण भेगका हजारौं बिरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको शिविर संयोजक कृष्ण सापकोटाले बताउनुभयो ।
दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । शिविरमा स्वस्थ्य परिक्षण गराएका सबै खालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ ।उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिव विपन्न वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । विभिन्न रोगका बिरामीहरुले स्वास्थ्य परिक्षण गरि लाभ लिएको बताउदै शिविर पुर्ण रुपमा सफल र सार्थक भएको सापकोटाले बताउनुभयो ।
शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिएको छ भने शिविरमा दाँतका विशेषज्ञ चिकित्सा सेवा, हाडजोर्नी सम्बन्धी चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिमित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, एक्स–रे÷भिडियो एक्स–रे सेवा र ओषधी वितरण लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
निशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि पाएकोमा लाभान्वित व्यक्तिहरु खुशी भएका छन् ।
सनिवार शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा जान नसक्ने आमाबुवा, दिदीबैनी तथा दाजुभाइहरुको लागि यो शिविर अत्त्यन्तै उपयोगी हुने बताउनुभयो । आयोजक तथा सहयोगिहरुलाइ धन्यबाद ज्ञापन गर्नुहुदै नगरप्रमुख तिवारीले यस्ताखालका कार्यक्रमहरुलाइ नगरले पनि प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी भोलानाथ शर्मा लम्सालले आफुले निकै कसरत गरेको कारण यो शिविर ल्याउन सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको माग भए ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा फलेवास नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रवक्ता अच्युत तिवारी लगायत वडा अध्यक्षहरुको सहभागिता थियोे । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौ देउराली दियालोका अध्यक्ष इन्द्र केसीले गर्नुभएको थियो ।

ताजा

Related Articles