महेन्द्र जिसी/लक्ष्मण बिसि,पर्वत
पर्वतमा यहीँ फागुन ११ गतेबाट सुरु भएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने आम अभियान प्रभावकारी बनाइएको छ । स्वास्थ्यकर्मी, स्वयंसेविका तथा जनप्रतिनिधिहरु घर-घरमा पुगेर औषधि खुवाइरहेका छन् । यसैबीच कुश्मा नगरपालिकाका २७ हजार भन्दा बढी जनताले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका छन् । मंगलबारसम्म २७ हजार बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको स्वास्थ्य शाखा प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
१४ वटा वडा रहेको कुश्मा नगरपालिकामा ३९ हजार १ सय ११ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
विभिन्न भ्रममा परेर यस अघिका बर्षमा औषधि सेवन नगरेकाहरुले पनि यो बर्ष औषधि सेवन गरेको बताउदै सबैलाई नछुटाई औषधि खुवाउन अहिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविका घर घरमै पुगेर औषधि खुवाउने कार्य भैरहेको शर्माले बताउनुभयो । हात्तीपाइले रोगको औषधि सेवनले कुनै नकारात्मक असर नपार्ने भएकाले निसंकोच औषधि खान सबैलाई आग्रह गर्नुभयो ।
अभियानलाई सफल र प्रभावकारी बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंमसेविका, संचारकर्मी र सरोकारवाला सबैको महत्त्वपूर्ण भुमिका रहने स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो ।
पर्वतमा यसवर्ष १ लाख ३२ हजार जनसङ्ख्या लाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेलले बताउनुभयो । जिल्लामा हात्तिपाइले रोगको पुर्व परीक्षणमा ० दशमलव ४ प्रतिशत जनसंख्यामा हात्तिपाइलेको जीवाणु देखिएको हुनाले यसवर्ष अन्तिम चरणमा औषधि खुवाउन लागिएको उहाँले बताउनुभयो । २०६४ सालदेखी सुरु भएको हात्तिपाइले रोग निवारण गर्ने अभियान १३ औं पटक सम्म पनि निवारण हुन नभएपछि पर्वतमा १४ औं पटकको अभियान सुरु भएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ । धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ । केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान पौडेलले आग्रह गर्नुभयो । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने बताइएको छ ।
हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
पर्वत सहित देशका १५ वटा जिल्लामा यहीँ फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम संचालन भैरहेको छ । पर्वतका सातै पालिकामा अहिले प्रभावकारी रुपमा औषधि खुवाउने कार्य भैरहेको छ ।