24.1 C
Kathmandu
Sunday, July 14, 2024

दलित शिक्षिकालाई जातीय विभेद र कुटपिट गरेको आरोपमा प्रधानाध्यापक पक्राउ!

पर्वत – दलित महिला शिक्षिकालाई जातिय गालीगलौज गर्दै कुटपीट गरेको अभियोगमा कुस्मा नगरपालिका ११, पकुवा सिल्मीको स्यानीपोखरी प्राथमिक विद्यालयका प्रधानाध्यापक खिमलाल सुवेदी र पूर्व प्रधानाध्यापक रामवहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुवेदी र केसीले सोहि विद्यालयकी दलित महिला शिक्षिका उमा नेपालीलाई जातिय गाली गलौज गर्दै कुटपीट गरी घाईते वनाएपछि पीडितले दोषिमाथि कार्वाहीको माग राख्दै प्रहरी कहाँ उजुरी दिएकी थिईन ।
विद्यालयमा दिउँसो खाजा खाने समयमा प्रधानाध्यापक सुवेदी र केसीले शिक्षिका उमा नेपालीलाई तल्लो जातिको भन्दै होच्याउँदै गालीगलौज गर्नुका साथै कुटपीट गरी घाईते बनाएका थिए । घटनापछि उपचारका लागि पर्वत जिल्ला अस्पतालामा उपचार गराएर पीडित शिक्षिका नेपालीले जिल्ला प्रहरी कार्यालयमा दोषिमाथि कार्वाहीको माग राख्दै जाहेरी दिएकी थिईन । प्रहरी सुवेदी र केसीका विरुद्ध गत विहीवार जिल्ला अदालत पर्वतवाट पक्राउ पूर्जि लिएपनि अभियुक्त दुई जनालाई शुक्रवार राति नौ वजेमात्रै पक्राउ गरेको थियो ।
गृहमन्त्रालयले हालै जातिय विभेदको मुद्धालाई प्रभावकारी ढंगले सम्वोधन गर्नका लागि देशका हरेक जिल्ला प्रहरी कार्यालयहरुमा दलित सेल खडा गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले प्रहरी कार्यालयमा दलित सेल खडा गरेर अनुसन्धान र कार्वाही प्रकृया अघि बढाउन निर्देशन दिइरहेको वेला जातिय विभेद र कुटपीटमा संलग्न अभियुक्तलाई पक्राउ गर्नेतर्फ पर्वत प्रहरीले ढिलासुस्ती गरेपछि स्थानीय दलित अधिकारकर्मीहरुले तीव्र असन्तुष्टि जनाएका थिए । पीडित परिवार र दलित अधिकारकर्मीहरुले जातिय विभेदको घटनाका दोषिलाई पक्राउ गर्नेतर्फ प्रहरीले वेवास्ता देखाएको भन्दै आलोचना गरेपछि प्रधानाध्यापक सुवेदी र केसी पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले अभियुक्त सुवेदी र केसीलाई जातिय भेदभाव तथा छुवाछुत मुद्धामा पक्राउ गरी अनुसन्धान प्रकृया शुरु गरिएको जानकारी दिए ।
स्थानीय दलित अधिकारकर्मीहरुले जातिय भेदभाव तथा छुवाछुत गर्नेहरुलाई कडा कार्वाही गरी पीडित शिक्षिकालाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन ।
जातीय भेदभाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन बर्षसम्म कैद वा एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । सार्वजानिक पद धारण गरेको व्यक्तिले जातीय भेदभाव तथा छुवाछुतको कसुर गरेमा निजलाई पचास प्रतिशत थप सजायको व्यवस्था गरिएको छ ।

ताजा

Related Articles