28.1 C
Kathmandu
Tuesday, July 16, 2024

सुन्तलाचौर माबिको ७२ औं वार्षिकोत्सव सम्पन्न,प्रदेश सांसद सुवेदीद्वारा बिद्यालयको स्मारिका विमोचन

लक्ष्मण बिसि, बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिका -२ दमेक स्थित श्री सुन्तलाचौर माध्यमिक बिद्यालयको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यहीँ फागुन १८ गतेदेखि २२ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथमा संचालन भएको कार्यक्रमको सोमबार मुल समारोह सम्पन्न भएको हो ।
सोही कार्यक्रमका अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले सुन्तलाचौर मा.बि. स्मारिका-२०७९ विमोचन गरि अतिथिहरु तथा अभिभावकहरुलाई वितरण गरिएको छ । कार्यक्रममा बोल्दै सुवेदीले विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि किताबी ज्ञानमा मात्र सिमित नराखी रुचि अनुसारको ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । सुन्तलाचौर माबिको शैक्षिक उन्नयनका लागि आफ्नो व्यक्तिगत र प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू निर्वाचित क्षेत्रको विकास र समृद्धिका लागि उल्लेखनीय कार्य गर्ने सुवेदीले बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, जैमिनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेम प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सब कार्यक्रमका अवसरमा विद्यालयका संस्थापकहरु, विद्यालयमा स्थापना गरिएका अक्षयकोषका संस्थापकहरु, विभिन्न समयमा विद्यालयलाई चन्दा प्रदान गर्ने विशिष्ट चन्दादाताहरु, विद्यालयका पूर्व प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु, पूर्व शिक्षकहरू लगायत सेवा निवृत्त शिक्षकहरु लाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो। विद्यार्थीहरुद्वारा रोचक सांगीतिक कोसेलीहरु प्रस्तुत गरि उपस्थित सम्पूर्णलाई मनोरञ्जन गराउनुभएको थियो। धनप्रसाद चन्द्रकला पुरस्कार कोष, हरिप्रसाद सापकोटा स्मृति अक्षयकोष, सरस्वती सापकोटा स्मृति अक्षयकोष, प्रेम प्रसाद भद्रकली सापकोटा स्मृति अक्षयकोषका संस्थापकहरुले विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको थियो । प्रेम टेलरिङ्ग सेन्टर कुश्मीसेराका प्रोपराइटर प्रेम परियारले दिवंगत हुनुभएको श्रीमती धनमाया परियारको स्मृतिमा ९ जना दलित तथा गरिब जेहेन्दार विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गर्नुभएको थियो। त्यसैगरी विद्यालयमा हालसालै स्थापना गरिएको नन्दलाल भागिरथी सापकोटा स्मृति अक्षयकोष र दल बहादुर सरस्वती अक्षयकोषका संस्थापक विष्णुप्रसाद सापकोटा र तर्क बहादुर थापाले विद्यालयलाई अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षता, शिक्षक खगराज सापकोटाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन विद्यालयका शिक्षक द्वय खगराज सापकोटा र ताराप्रसाद सापकोटाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा २००७ सालका विद्यालयका संस्थापकहरुका नजिकका परिवारका सदस्यहरु, विद्यालयमा स्थापना गरिएका अक्षयकोषका संस्थापकहरु, विभिन्न समयमा विद्यालयलाई चन्दा प्रदान गर्ने चन्दादाताहरु, विशिष्ट योगदान कर्ताहरु, विद्यालयका पूर्व प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु, पूर्व शिक्षकहरू, पूर्व विद्यार्थीहरु, अभिभावकहरु एवं विद्यार्थीहरुको वृहत् उपस्थिति रहेको थियो ।

ताजा

Related Articles