लक्ष्मण बिसि,पर्वत
पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा लाभग्राहीले निवेदन भर्ने तरिका र आवश्यक कागजात, वडा तथा पालिकाको काम र राष्ट्रिय भूमी आयोग जिल्ला समितिको काम कर्तव्यका बारेमा जिल्ला समितिका अध्यक्ष उदय प्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो । निवेदकले रितपुर्वक फारम भर्ने तरिका, मापदण्ड र वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पाउने जग्गाको बारेमा सुवेदीले जानकारी गराउनुभयो ।
जिल्ला समिति पर्वतले आफ्नो काम कर्तव्यलाई जोड दिएको बताउदै वडाबाट, पालिकामा र पालिकाबाट जिल्ला समितिमा निवेदन जतिसक्दो छिटो पठाउन आग्रह गर्नुभयो ।
महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगको नियम अनुसार जग्गा उपलब्ध र ब्यवस्थापन गर्ने बताउनुभयो । पालिकामा निवेदन पठाउँदा वडाबाट नै सबै कागजात र प्रक्रिया पुर्याएर पठाउन आग्रह गर्नुभयो । उपाध्यक्ष धनसुवा बिकले उक्त अन्तरक्रिया कार्यक्रमले महाशिलाका विभिन्न वडामा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन प्रक्रियामा सहज भएको बताउनुभयो । पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थितको व्यवस्थापनमा जोड दिने उहाँले बताउनुभयो ।
मालपोत कार्यालय पर्वतका प्रमुख मुकुन्द लामिछानेले जग्गा हुँदा हुँदै छैन भनेर झुठो विवरण नदिन आग्रह गर्नुभयो । मालपोत कार्यालयको अनलाइन सिस्टममा परिवारको नाममा जग्गा भए नभएको देखिने बताउदै कहिकतै परिवारको नाममा जग्गा भए सुकुम्बासी नपर्ने र जग्गा पनि प्राप्त नहुने भएको हुँदा निवेदन नभर्न अनुरोध गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थितले निवेदनको ढाचा अनुसार रितपुर्वक निवेदन भरेर जिल्ला समितिमा पठाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग जिल्ला समिति पर्वतका सदस्य मन बहादुर क्षेत्री, वडा अध्यक्ष तथा सचिवहरु र निवेदकहरुको उपस्थिति रहेको थियोे ।
महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको उक्त कार्यक्रमको संचालन महाशिलाका कम्प्युटर अप्रेटर रमेश अधिकारीले गर्नुभएको थियो ।